२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

सरकारको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै छन् : सांसद बराल

बिहिवार , भाद्र १८, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौँ, १८ भदौ । नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नुपरेको बताउनुभएको छ ।

    प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीमा सम्पर्कविहीन आफन्तको खोजिमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । नागरिकभन्दा ठूलो कुनै सरकार र व्यक्ति हुन नसक्ने भन्दै उहाँले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन आग्रह समेत दिनुभयो ।

    सांसद बरालले प्रविधि अभावको कारण देखाउँदै सरकारले जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो । सुरुङभित्र रहेका नागरिक जीवितै रहेको आशा व्यक्त गर्दै उहाँले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले बाढी  प्रभावित क्षेत्रमा राहत वितरणका लागि अपनाएको एकद्धार प्रणालीका कारण जनता भोकै छन् ।

    यस विषयमा सरकारले ध्यान दिनुपर्छ । बाढीमा परि मृत्यु हुनुभएका नागरिकप्रति हार्दिक श्रदाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहान्छु ।  घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्न चाहान्छु । सम्पर्कविहीन नागरिकको खोज र उद्धार कार्य जारी राखियोस् । नागरिकभन्दा ठूलो कुनै सरकार र व्यक्ति हुन सक्दैन । यस कुरामा ध्यान जाओस् । प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन । सुरुङभित्र रहेका नागरिक अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ । कर्णालीका केही नागरिकले भागेर ज्यान जोगाउनुभएको छ ।

    उहाँहरुको मसँग समेत भेट भएको थियो । सम्पर्कविहीन आफन्तको खोजिमा प्रभावित क्षेत्रमा रहेका नागरिकले समेत खान पाएको छैन । यस विषयमा पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
    सांसद बरालले बाढीमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो