२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

बिहिवार , भाद्र १८, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • भैरहवा, १८ भदौ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’ समाचार एजेन्सी नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध हुनुभएको छ ।

    करिब चार दशकदेखि पत्रकारिता, सम्पादन, साहित्य, सञ्चार प्रशिक्षण तथा सामाजिक–साँस्कृतिक चेतनाको क्षेत्रमा सक्रिय झा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) को निवर्तमान कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल न्यूज बैंकलाई अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार थप व्यवस्थित तथा प्रभावकारी बनाउन सम्पादकीय मार्गदर्शन गर्ने भूमिकामा रहनुहुनेछ ।

    नेपाल न्यूज बैंकमा हाल २ सय भन्दा बढी सञ्चारमाध्यम आबद्ध रहेको जनाइएको छ । बैंकले समाचार, भिडियो, अडियो, फोटोफिचर, समसामयिक लेख तथा खोजमूलक समाचार सामग्री उपलब्ध गराउँदै आउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार सामग्रीका लागि एएनआई र सीसीटीभी प्लसजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थासँग समेत सहकार्य गर्दै आएको बैंकले जनाएको छ ।

    राससको नेतृत्वमा रहँदा झा समाचार एजेन्सीलाई आधुनिक प्रविधिमैत्री र सेवामुखी बनाउने प्रयासका कारण चर्चामा आउनुभएको थियो । सरकारले २०७९ असार ६ गते उहाँलाई राससको कार्यकारी अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेको थियो । तर, आफ्नो कार्यकाल पूरा हुनुअघि नै उहाँले २०८२ चैतमा पदबाट राजीनामा दिनुभएको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष राजीनामा बुझाउँदै उहाँले बदलिएको राजनीतिक परिस्थितिमा नयाँ सरकारलाई आफ्नो अनुकूलताअनुसार काम गर्ने बाटो खुला गर्न नैतिक आधारमा पदबाट अलग भएको बताउनुभएको थियो ।

    उहाँले २०६५ देखि २०६८ सालसम्म नेपाल पत्रकार महासंघको नेतृत्व गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा उहाँले मूलधारका सञ्चारमाध्यमदेखि मोफसल र अनलाइन सञ्चारसम्म लामो अनुभव हासिल गर्नुभएको छ ।

    उहाँले २०४३ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । जनकपुरबाट पत्रकारिताको यात्रा सुरु गर्नुभएका उहाँले विभिन्न समयमा हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, कोशी अनलाइन, नयाँ पाइला अनलाइन तथा विकास टाइम्स लगायतका सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व तथा जिम्मेवारी सम्हाल्नुभएको छ । राससको अध्यक्षमा नियुक्त हुनुअघि नै उहाँ नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव भएका पत्रकार, प्रशिक्षक तथा सूचनाको हकका अभियन्ताका रूपमा परिचित हुनुहन्थ्यो ।

    झाले पत्रकारितासँगै मैथिली भाषा तथा साहित्यको विकासमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ । मैथिली पत्रकारिताको इतिहासको अध्ययन र दस्तावेजीकरणमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको छ । उहाँले लेख्नुभएको ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ कृतिले नेपालमा मैथिली छापा पत्रकारिताको विकासक्रमलाई अभिलेखीकरण गर्ने प्रयास गरेको छ ।

    मैथिली पत्रकारिताको विकासका क्रममा विभिन्न पत्रपत्रिका, पत्रकार तथा संस्थाको योगदानबारे अनुसन्धान गर्नुभएका झाले पत्रकारिता प्रशिक्षणमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । २०६० र २०६१ सालमा राजविराज तथा सिरहामा आयोजित मैथिली पत्रकारितासम्बन्धी तालिममा उनी प्रशिक्षकका रूपमा सहभागी हुनुभएको छ ।

    साहित्यमा ‘धर्मेन्द्र विह्वल’ नामले परिचित झाका नेपाली तथा मैथिली भाषामा साहित्य, पत्रकारिता र अन्य विषयका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उहाँका पछिल्ला कृतिमध्ये मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ पनि हो । २०८२ चैतमा प्रकाशित उक्त कृतिमा मुस्ताङको मुक्तिनाथदेखि भारतको जगन्नाथसम्मको यात्रालाई समेटिएको छ ।
    मिडिया प्रविधि, राजनीतिशास्त्र र मैथिली विषयमा स्नातकोत्तर गरेका झा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, श्रमजीवी पत्रकारको अधिकार, समावेशीता तथा मधेशका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आउनुभएको छ ।

    अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) का लागि नेपालबाट पहिलो सल्लाहकारसमेत बन्नुभएका झाको पत्रकारिता मूलधारको काठमाडौंकेन्द्रित सञ्चार र मधेशका सामाजिक–राजनीतिक तथा सांस्कृतिक मुद्दाबीचको सम्बन्ध स्थापित गर्ने प्रयासका रूपमा पनि हेरिन्छ ।

    नेपाल न्यूज बैंकमा उहाँको आबद्धताले समाचार उत्पादन, सम्पादन, सामग्रीको विश्वसनीयता तथा सम्पादकीय संरचनालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचार एजेन्सीको भूमिका बदलिँदै गएको अवस्थामा झाको लामो सम्पादकीय अनुभवलाई बैंकले महत्वपूर्ण सम्पत्तिका रूपमा लिएको जनाएको छ ।