शुक्रवार , भाद्र १९, २०८३
भैरहवा, १९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहास्थित मदरसा कादरिया मिस्बाहुल ओलुमले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुका लागि सहयोग गर्ने भएको छ । बाढीप्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५९ हजार ४ सय ३० रुपैयाँ जम्मा गर्ने मदरसाका शिक्षक मौलाना जलाउद्दीन खाँले बताउनुभयो ।
मदरसाका शिक्षक तथा मुस्लिम समुदायबाट संकलित रकम कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । ‘विपद्को समयमा दुःखमा रहेका व्यक्तिहरुको साथमा हामी छौं । बाढीप्रभावितलाई सहयोगका लागि सबैसमक्ष अपील पनि गर्न चाहन्छौं, ’उहाँले भन्नुभयो ।
यस्तो विपद्को समयमा मदरसाकोतर्फबाट बाढीप्रभावितलाई सहयोग गर्नु सराहनीय रहेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरका जनसम्पर्क सल्लाहकार समेत रहनुभएका सिद्धार्थनगर–४ दोगहराका मोहम्मद अलीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij