२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

प्रहरी महानिरीक्षक कार्कीबाट बाढीप्रभावित जिल्लाको स्थलगत अनुगमन

शुक्रवार , भाद्र १९, २०८३

  • 85
    Shares
  • 85
    Shares
  • रूपन्देही, १९ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा लगायतका जिल्लाको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ ।

    अनुगमनका क्रममा आईजीपी कार्कीले बाढीप्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको खोज तथा उद्धार, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण तथा पुनःस्थापनालगायतका कार्यको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसँग भेट गरी खोज तथा उद्धार, राहत वितरण, सुरक्षा व्यवस्थापन र विपद् प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित तथा पारदर्शी बनाउने विषयमा छलफल गर्नुभएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।

    आईजीपी कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा उच्च मनोबलका साथ खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । खोज तथा उद्धार कार्यमा आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम् प्रयोग गरी नागरिकको जीवनरक्षा र सुरक्षामा कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो ।

    बाढीप्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुव्र्यवहार, हिंसा तथा अन्य जोखिमप्रति थप संवेदनशील भएर काम गर्न उहाँले प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको  छ। विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गर्न तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी बनाउनसमेत उहाँले निर्देशन दिनुभयो ।

    WhatsApp Image 2026-09-04 at 9.20.13 PM (1).jpeg

    नेपाल प्रहरी अहिले बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, पुनःस्थापना तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर परिचालन भइरहेको छ । प्रभावित नागरिकको उद्धार तथा आवश्यक सहयोगका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गरी काम भइरहेको नेपाल प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ । 

    आईजीपी कार्कीले विपद् प्रभावित नागरिकको जीवनरक्षा तथा सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकतामा राखी संगठनले गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्थानीयहरूले बताएका छन् ।