२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

बाढीबाट बगेर आएका २१५ शव तथा अंग फेला, १९९ को व्यवस्थापन

शनिवार , भाद्र २०, २०८३

  • 283
    Shares
  • 283
    Shares
  • पश्चिम नवलपरासी, २० भदौ । भोटेकोशी तथा माथिल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण बगेर पश्चिम नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा शारीरिक अंगहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य तीव्र पारिएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीको पछिल्लो आधिकारिक तथ्यांक अनुसार नवलपरासी पश्चिम क्षेत्रमा मात्रै १३३ वटा पूर्ण शव र ६४ वटा मानव शरीरका अंगरू गरी कुल १९७ वटा शव तथा अंग फेला परेका छन् । यसमा भारतबाट ल्याई राखिएको १८ वटा शव समेत थप हुँदा कुल फेला पर्ने शव तथा अंगहरूको संख्या २१५ पुगेको छ । यसरी फेला परेका कुल शव तथा अंगहरूमा ४८ महिला, ८७ पुरुष, ६ बालक, ६ बालिका र ४ जना लिंग नखुलेका रहेका छन् ।

    ८ जनाको सनाखत, १९९ शव तथा अंगको व्यवस्थापन 

    फेला परेका शवहरूमध्ये भारतबाट ल्याएको १ सहित हालसम्म ८ जना (१ महिला, ७ पुरुष) को सनाखत भइ आफन्तलाई बुझाइएको छ । त्यस्तै, विभिन्न मितिमा कानुनी प्रक्रिया पूरा गरी कुल १९९ वटा (१३९ वटा पूर्ण शव र ६० वटा शरीरका अंग) शव तथा अंगहरूको व्यवस्थापन गरिसकिएको छ । तथ्यांक अनुसार भदौ १४ गते सुनवल–७ अलकत्रे डाँडामा ४५ वटा (२० शव, २५ अंग), १५ गते सोही स्थानमा २३ वटा (२२ शव, १ अंग), १६ गते बर्दघाट नगरपालिका–२ चिसापानी जंगलमा ६५ वटा (५२ शव, १३ अंग), १७ गते भारतको ६ महिला र ३ पुरुषसहित १२ वटा शव, र १८ गते भारतको ४ महिला र ४ पुरुषसहित ५४ वटा (३३ शव, २१ अंग) शव तथा अंगहरूको व्यवस्थापन गरिएको छ । 

    ८ वटा शव तथा अंग व्यवस्थापन हुन बाँकी

    हाल जिल्ला अस्पताल परासी नवलपरासीमा ४ वटा पूर्ण शव र ४ वटा शरीरका अंग गरी जम्मा ८ वटा मात्र व्यवस्थापन हुन बाँकी रहेका छन् । बाँकी रहेकामध्ये १ जना पुरुषको सनाखत भइसकेको भए पनि शव बुझ्न बाँकी रहेको छ । माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका कारण धेरैजसो शवहरूको पहिचानमा कठिनाइ भए तापनि डिएनए परीक्षण र नारायणी तटीय क्षेत्रमा खोजी तथा पहिचानको कार्य अझै निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।