२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

बाढीप्रभावितको सुरक्षित पुनर्स्थापना सरकारको प्राथमिकतामा : मन्त्री बादी

शनिवार , भाद्र २०, २०८३

  • 436
    Shares
  • 436
    Shares
  • भैरहवा, २० भदौ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शनिबार धादिङका बाढीप्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री बादीसहित प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्याल, आशिका तामाङ, बसुमाया तामाङलगायतको टोली स्थलगत अनुगमन गरेको हो ।

    मन्त्री बादीले गजुरी गाउँपालिका–५, गलौंदीस्थित बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै पृथ्वी राजमार्ग तथा आसपासका प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो । अनुगमनका क्रममा उहाँले बाढीबाट प्रभावित नागरिकको अवस्था, भौतिक पूर्वाधारमा पुगेको क्षति तथा तत्काल आवश्यक राहत र सहयोगका विषयमा सम्बन्धित निकायसँग जानकारी लिनुभयो ।

    उहाँले फुर्केखोला होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकलाई उपलब्ध गराइँदै आएको आवास, स्वास्थ्य, खाद्यान्न तथा अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिनुभयो । उहाँले विपद्को समयमा अस्थायी आश्रयस्थलमा रहेका नागरिकको सुरक्षा, स्वास्थ्य र आवश्यक सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । विपद्बाट प्रभावित नागरिकको उद्धार, सुरक्षा, संरक्षण तथा सुरक्षित पुनर्स्थापनाका लागि सरकार सक्रिय रूपमा परिचालित रहेको उहाँको भनाइ छ ।

    अनुगमनका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका नागरिकको विशेष सुरक्षा र संरक्षण सुनिश्चित गर्न मन्त्री बादीले जोड दिनुभयो । उहाँले विपद्का कारण परिवारबाट छुट्टिएका वा जोखिममा परेका बालबालिकाको पहिचान, सुरक्षित संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

    मन्त्री बादीले धादिङ जोड्ने पुल तथा आसपासका बाढीप्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरी आवागमन तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो । विपद्पछि अवरुद्ध वा जोखिममा परेका पूर्वाधारको पुनःस्थापना तथा नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न उहाँले आग्रह गर्नुभयो ।

    त्यसै गरी मन्त्री बादीले नेपाल विद्युत प्राधिकरण, गजुरी सबस्टेशनको स्थलगत निरीक्षण गर्दै बाढीपछि विद्युत सेवा तथा विद्युत पूर्वाधारमा परेको प्रभावबारे जानकारी लिनुभयो । प्रभावित क्षेत्रमा विद्युत सेवा सुरक्षित र शीघ्र रूपमा पुनःस्थापना गर्न तथा जोखिमयुक्त विद्युत संरचनाबाट नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न उहाँले सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले विपद् व्यवस्थापनलाई तत्काल राहत र उद्धारमा मात्र सीमित नराखी प्रभावित नागरिकको दीर्घकालीन सुरक्षा र सम्मानजनक जीवनयापन सुनिश्चित हुने गरी पुनस्र्थापनाको योजना अघि बढाउनुपर्ने बताउनुभयो ।

    उहाँले प्रभावित नागरिकलाई तत्काल सुरक्षित आश्रय, राहत तथा अत्यावश्यक सेवा उपलब्ध गराउँदै दीर्घकालीन रूपमा सुरक्षित आवास, आधारभूत सेवा तथा जीविकोपार्जनका अवसरसँग जोडेर व्यवस्थित पुनस्र्थापनाका लागि सरकार आवश्यक योजना र समन्वयका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

    WhatsApp Image 2026-09-05 at 8.17.03 PM.jpeg

    धादिङमा रहेका तीनवटा होल्डिङ सेन्टरमा बाढीका कारण विस्थापित नागरिकहरूको अवस्था बुझ्न स्थलगत निरीक्षण गरिएको प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले बताउनुभयो । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको सदस्य समेत रहनुभएकी पौड्यालले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीको सुरक्षा, स्वास्थ्य, पोषण र सम्मानजनक बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकताका साथ सरकारले काम गरिरहेको बताउनुभयो । ‘बाढीका कारण विस्थापित भइ आश्रय लिइरहनुभएका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको अवस्था नजिकबाट बुझ्दै उहाँहरूका आवश्यकता र समस्याबारे जानकारी लियौं, ’सांसद् पौड्यालले भन्नुभयो ।