सोमवार , भाद्र २२, २०८३
भैरहवा, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक प्रकोपको संकटसँगै राजनीतिक संकटमा रहेको बताउनुभएको छ । उहाँले अहिले पनि जनताले सुशासन नपाएको बताउनुभयो ।
जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिले पनि मुलुकमा कुशासन कायम रहेको बताउनुभयो । ‘विगतको निर्वाचनमा विकास र सुशासन तथा पुरानो होइन, नयाँको नारा दिइयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत पायो । बहुमत पाइसकेपछि विकास र सुशासन हरायो । अहिले पनि सुशासन जनताले पाएका छैनन् । अहिले पनि कुशासनै कायम छ । आज देश आर्थिक संकटमा परेको छ । नेपाल ग्रे लिस्टमा परेको छ, अब ब्यलाक लिस्टमा पर्ने सम्भावना छ, ’उहाँले भन्नुभयो ।
प्रयास गरेको देखिए पनि नेतृत्व सफल हुन नसकेको उहाँले बताउनुभयो । जे मा पनि कर बढेको भन्दै अध्यक्ष यादवले गरीब जनतामाथि कर थप्नु अन्याय भएको बताउनुभयो । कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक क्षेत्रहरु निकै खस्कदै गएको उहाँले बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र र दलालीको तरिका बदलिएको तर, यसमा पहिला भन्दा कमी भने नआएको जिकिर गर्नुभयो । ‘विगत ३४ वर्षमा ३० पटक सरकार बदलिएको र सरकार बनाउने, गिराउने तथा पार्टी बनाउने र तोड्ने काम भएको उहाँको भनाइ छ । यसबाट जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो । मुलुक अपेक्षाकृत विकासको गतिमा अगाडि बढ्न नसकेको र यसको नेतृत्व काँग्रेस–कम्युनिष्टले गरेको उहाँले बताउनुभयो । ‘यी पार्टी जनतालाई न्याय दिन, मुलुकलाई आर्थिक समृद्धि र विकासको बाटोमा लैजान पूर्ण रुपमा असफल भए । हामी काँग्रेस–कम्युनिष्टका पछाडी लाग्यौं, यही नै हाम्रो गल्ती भयो, ’उहाँले भन्नुभयो । अध्यक्ष यादवले पार्टीको अनुशासन र निर्णयविपरीत काम गर्ने जोसुकैलाई पनि कारवाही गरिने बताउनुभयो ।
त्यस्तै पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले अहिले देशको अवस्था ठीक नरहेको बताउनुभयो । उहाँले जसपा नेपाल अहिले प्रतिनिधि सभामा नभए पनि सडकमा भएको बताउनुभयो । सदन र सरकार तपाईको होला, अहिले हाम्रो सडक छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, जसपा नेपालको केन्द्रीय सदस्य सावित्रा वि.क., अजय वर्मा, नेतृ विजया खत्री, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, निलम यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँ, रामकिसुन नायक, नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, सिद्धार्थनगर नगरपालिका अध्यक्ष जावेद आलम, लुम्बिनी साँस्कृतिक नगरपालिका अध्यक्ष अहमद हुसेन, गैडहवा गाउँपालिका अध्यक्ष शिव कुमार यादव, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव लगायतले बोल्नुभएको थियो ।
जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, युवा नेता रवि यादवको स्वागत तथा जिल्ला सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij