सोमवार , भाद्र २२, २०८३
भैरहवा । कर्मचारी मिलन केन्द्र रुपन्देहीले रुसुवा बाढीपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । निजामती सेवा दिवसको अवसर पारेर बाढीपीडितको सहयोगार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको अध्यक्ष प्रेम पोख्रेलले जानकारी दिनुभयो ।
कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
निजामती सेवा दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराख्दै कर्मचारी मिलन केन्द्र रुपन्देहीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेको हो । अध्यक्ष पोख्रेलका अनुसार निजामती सेवा दिवसको अवसर पारेर केन्द्रमा आबद्ध कर्मचारीहरूको सहभागीता तथा सहयोगबाट उक्त रकम संकलन गरी बाढीपीडितको राहतका लागि उपलब्ध गराइएको हो ।
बाढीका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा राज्यलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिको समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कर्मचारी मिलन केन्द्रले निजामती कर्मचारी सेवा दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेको जनाएको छ ।
अध्यक्ष पोख्रेलले सरकारी सेवामा कार्यरत कर्मचारीको भूमिका केवल प्रशासनिक जिम्मेवारीमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग पनि जोडिनुपर्ने सन्देश दिन सहयोग गरिएको उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij