२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

बाढीमा दिवंगतप्रति दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली अर्पण

मंगलवार , भाद्र २३, २०८३

  • 25
    Shares
  • 25
    Shares
  • बुटवल, २३ भदौ । रसुवाको भोटेकोशी–रसुवागढी क्षेत्रमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा रुपन्देहीको बुटवलमा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    रोटरी क्लब अफ बुटवल चौतारीको अग्रसरतामा रोटरी डिष्ट्रिक्ट ३२९२, रिजन–५ अन्तर्गत बुटवल क्षेत्रका विभिन्न रोटरी क्लबको संयुक्त आयोजनामा बुटवल राजमार्ग चौराहामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । कार्यक्रममा बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरी एक मिनेट मौन प्रार्थना गरिएको क्लबका अध्यक्ष वासुदेव भुसालले जानकारी दिनुभयो । सहभागीहरूले विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।

    कार्यक्रम संयोजक डा. आर.सी. आचार्यले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो । उहाँले विपत्तिका बेला मानवता, सहकार्य र एकताको भावना अझ बलियो बनाउनुपर्ने बताउँदै रोटरीले संकटमा परेका समुदायलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । ‘सेवा नै रोटरीको पहिचान हो । विपत्तिको समयमा एकअर्काको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,’उहाँले भन्नुभयो ।

    कार्यक्रममा रिजन–५ अन्तर्गतका विभिन्न रोटरी क्लबका अध्यक्ष, पूर्वअध्यक्ष, सहायक गभर्नर, रोटरियन तथा डिष्ट्रिक्ट पदाधिकारीको सहभागीता रहेको रोटरी क्लव अफ बुटवल चौतारीका सचिव माधव पौडेलले जानकारी दिनुभयो । सहभागीहरूले दीप प्रज्ज्वलनमार्फत दिवंगतप्रति सम्मान व्यक्त गर्दै विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए ।

    श्रद्धाञ्जली कार्यक्रमले विपत्तिमा ज्यान गुमाएका नागरिकको स्मरणसँगै दुःखको समयमा पीडितका साथमा उभिने, मानवीय संवेदना र सामाजिक एकता कायम राख्ने सन्देश दिएको आयोजकले जनाएको छ ।