मंगलवार , भाद्र २३, २०८३
नवलपरासी, २३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीको सुनवलमा उद्योग रहेको सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सर्वोत्तम सिमेन्टका सञ्चालकहरू दिवस न्यौपाने, शशी न्यौपाने, विमल सवर्थिया र तेन्जिङ तामाङसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक शशी न्यौपानेले विपद्को समयमा पीडित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले विपत्तिमा सरकारको प्रयासलाई सहयोग पुर्याउन निजी क्षेत्र पनि आफ्नो तर्फबाट योगदान गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
पश्चिम नवलपरासीको सुनवलमा आफ्नो उद्योग सञ्चालन गरिरहेको सर्वोत्तम सिमेन्टले यसअघि पनि महाभूकम्प, कोरोना महामारीलगायतका विभिन्न विपत्तिका समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij