मंगलवार , भाद्र २३, २०८३
भैरहवा, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले भोटेकोशी बाढी र जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण र २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरुको सम्झनामा कार्यक्रम गरिएको रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेले बताउनुभयो ।
कार्यक्रममा प्राकृतिक विपद्, जेनजी आन्दोलन र विभिन्न आन्दोलनमा ज्यान गुमाउनुहुने शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मायादेवी मन्दिर परिसरमा दिवगंत आत्माहरुको सम्झनामा सामूहिक रुपमा दीप प्रज्वलन, ध्यान तथा प्रार्थना गरिएको थियो । श्रद्धाञ्जली, दीप प्रज्ज्वलन तथा शान्ति प्रार्थना कार्यक्रममा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

रास्वपा रुपन्देहीका उपसभापति दुर्गा खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, क्षेत्रीय, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यहरु, प्रतिनिधि सभा सदस्यहरु, पार्टीका कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij