बुधवार , भाद्र २४, २०८३
कपिलवस्तु, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले सुशासन र विकासको नाममा जनतासँग मत मागे पनि व्यवहारमा त्यसको ठीक उल्टो काम गरिरहेको आरोप लगाउनुभएको छ ।
जसपा नेपाल जिल्ला समिति कपिलवस्तुले मंगलबार तौलिहवामा आयोजना गरेको भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार र कुशासन बढ्दै गएको तथा बिचौलिया सक्रिय रहेको बताउनुभयो । उहाँले सरकार जनताका समस्या समाधान गर्न असफल भएको दावी गर्दै गरिबी र बेरोजगारी बढेको बताउनुभयो । सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले समेत विभिन्न किसिमका सास्ती खेप्नुपरेको उहाँको भनाइ थियो । ‘सुशासनको नाममा कुशासन सुरु भएको छ,’अध्यक्ष यादवले भन्नुभयो-‘जनताले सुशासन र आर्थिक विकास खोजेका छन् तर सरकारले त्यसअनुसार काम गर्न सकेको छैन ।’
सरकारले युवाहरूको आवाज नसुनेका कारण विद्रोहको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । भ्रष्टाचार र कुशासनमा सरकार लिप्त भएका कारण जनतामा निराशा बढेको उहाँको आरोप थियो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले संविधान संशोधन आजको आवश्यकता भएको बताउनुभयो । वर्तमान सरकारले संविधान संशोधनको विषयमा जनतासँग मत मागे पनि अहिलेसम्म त्यसतर्फ ठोस काम नगरेको उहाँले आरोप लगाउनुभयो । उहाँले मुलुकको राजनीतिक प्रणालीलाई थप समावेशी, न्यायपूर्ण र प्रभावकारी बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।
प्राकृतिक विपत्तिबाट सहाराबिहीन भएका नागरिकको संरक्षण राज्यले नै गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष यादवले ठूला देशले गरेका गल्तीको असर नेपालजस्तो सानो देशले व्यहोर्नुपरेको उल्लेख गर्दै पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताउनुभयो । यसका लागि संयुक्त राष्ट्रसंघमा समेत नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij