शुक्रवार , भाद्र २६, २०८३
भैरहवा, २६ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढस्थित श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको आयोजना र प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरको स्थानीय आयोजक श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र रहेको थियो ।
शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका गरी २०२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो । तीमध्ये ९४ जना बिरामीहरूमा मोतियाबिन्दुको समस्या फेला परेको छ ।
मोतियाबिन्दु देखिएका बिरामीहरूलाई थप उपचार तथा निःशुल्क शल्यक्रियाका लागि भैरहवास्थित रणअम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिनुभयो । शिविरमा नेत्र अधिकृत संजिव अधिकारीको नेतृत्वमा खटिएको विशेषज्ञ टोलीले बिरामीहरूको आँखा जाँच गर्नुका साथै आवश्यक परामर्श र औषधि समेत वितरण गरेको थियो ।
ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूलाई घरदैलोमै गुणस्तरीय आँखा उपचार सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij