शुक्रवार , भाद्र २६, २०८३
बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलमा आयोजित अन्तरविद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ इङ्लिस बोर्डिङ स्कूलले जितेको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८ औं स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
‘संस्कृति संरक्षणमा शिक्षाको महत्व’ विषयमा आयोजित प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालय सहभागी भएका थिए ।
प्रतियोगितामा प्रथम भएको तिनाउ इङ्लिस बोर्डिङ स्कूलले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बुटवलको इन्टलेक्चुअल एकेडेमी दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूल तेस्रो हुँदै १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै देवदहको न्यू लुम्बिनी ईग्लिस बोर्डिङ स्कूल र बुटवलको लक्ष्मी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्दै जनही ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेय, बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष अरुणकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
टेलिभिजनका अध्यक्ष झपटबहादुर गुरुङ (जेभी) ले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मुख्य संरक्षकत्व तथा तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।
प्रतियोगितामा यशोदा फुड्स प्रा.लि. मुख्य प्रायोजक तथा अन्नपूर्ण एग्रो इ.डष्ट्रिज प्रा.लि. र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij