२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

जब विद्यार्थीले सोधे-‘तपाईंजस्तो बन्न कति पढ्नुपर्छ ?’

आइतवार , आश्विन ४, २०८३

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, ४ असोज । ‘तपाईंजस्तो बन्न कति पढ्नुपर्छ ?’ विद्यार्थीले सोधेको यो प्रश्नले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवलाई केहीबेर सोच्न बाध्य बनायो । सामाजिक विषयको अध्ययनपछि गाउँपालिकाको कार्यालय अवलोकनमा आएका प्रज्ञा गुरुकुल आश्रमका विद्यार्थीले यादवलाई उक्त प्रश्न गरेका थिए ।

    विद्यार्थीको प्रश्नको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत यादवले आफ्नो संघर्षको अनुभवसमेत सुनाउनुभयो । उहाँले सानै उमेरदेखि अध्ययनमा ध्यान केन्द्रित गर्दै कडा मेहनत र निरन्तर प्रयास गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
    यादवले विद्यार्थीहरूलाई खुलेर प्रश्न गर्न आग्रह गरेपछि उनीहरूले गाउँपालिकामा भइरहेका विभिन्न विकास निर्माणका काम, विद्यालयसँग सम्बन्धित आवश्यक विषयलगायतका बारेमा जिज्ञासा राखेका थिए ।

    IMG_4908.JPG

    कोटहीमाई गाउँपालिका–१, पुर्निहवास्थित प्रज्ञा गुरुकुल आश्रममा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरू स्थानीय सरकारसम्बन्धी पाठको अध्ययनका क्रममा स्थानीय तहको कार्यालय प्रत्यक्ष अवलोकन गर्न पालिका पुगेका विद्यालयका शिक्षक वीरेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

    ‘स्थानीय सरकारसम्बन्धी पाठमा स्थानीय तहले गर्ने काम तथा विभिन्न शाखाको प्रत्यक्ष अवलोकनसम्बन्धी विषयवस्तु रहेकाले विद्यार्थीहरूलाई पालिका अवलोकनका लागि ल्याएका हौं,’ शिक्षक गुप्ताले भन्नुभयो ।

    विद्यार्थीहरूले स्थानीय तहले विषयगत शाखामार्फत कसरी काम गर्छ, विभिन्न शाखाको जिम्मेवारी के हुन्छ तथा स्थानीय तहमा कुन–कुन पदाधिकारीको कार्यकक्ष हुन्छ भन्नेलगायतका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए ।

    कोटहीमाई गाउँपालिका शिक्षा शाखाका सहायक शिक्षा अधिकृत मनोहर चौधरीले विद्यार्थीहरूलाई सहजीकरण गर्दै गाउँपालिकाका विभिन्न शाखा तथा तिनको काम, जिम्मेवारी र अधिकारबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, जनप्रतिनिधिको भूमिका, अधिकार तथा जिम्मेवारीका साथै स्थानीय तहमा हुने विभिन्न कार्यसम्पादन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

    विद्यार्थीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको समेत अवलोकन गरेका थिए ।