सोमवार , आश्विन ५, २०८३
पाल्पा, ५ असोज । सामुदायिक वन समन्वय समिति, तिनाउ–पाल्पाको २३ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सोमबार सिद्धबाबा मन्दिरको सभा हलमा सम्पन्न भएको छ ।
सभामा संस्थाका महासचिव गणेश बहादुर रास्कोटीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विनोदप्रसाद बस्यालले आर्थिक प्रतिवेदन र अध्यक्ष दलबहादुर गुरुङले चालू आर्थिक वर्षमा सञ्चालन गरिने वार्षिक कार्ययोजना पेश गर्नुभएको थियो ।
दिंवगत हुनुभएका संरक्षणकर्मी लालकुमार श्रेष्ठलाई दलबहादुर गुरुङद्वारा आफ्ना बाबाआमाको स्मृतिमा स्थापित ‘लालचन्द्र संरक्षण पुरस्कार–२०८३’ परणोपरान्त उनका परिवारलाई प्रदान गरिएको छ ।
सोही अवसरमा संस्थामा १० वर्षदेखि संस्थामा निरन्तररुपमा क्रियाशील एवं गतिशील कार्यालय सचिव सरिता गुरुङलाई सम्मान गरिएको थियो ।
सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वन, वातावरण तथा जैविक विविधता संरक्षणको अभियानमा समन्वय समितिले प्रशंसनीय र उल्लेखनीय कार्य गरेको बताउनुभयो । उहाँले स्थानीय सरकारले गर्नुपर्ने कार्यमा विशेष सहयोग पुर्याएकोमासमन्वय समितिलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।
सभामा विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले संरक्षणमुखी गतिविधिमा पालिकाले हातेमालो गर्न आतुर रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यादव प्रसाद अर्याल, संस्थाका पूर्वअध्यक्ष एवं चुनावी प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेय, पूर्वअध्यक्ष राजेश श्रेष्ठले संस्थाले जलवायु न्यायका लागि समन्वय समिति गतिशील हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले प्रेम पाण्डेयको अध्यक्षतामा दुई सदस्यपछि मनोनित गर्ने गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले स्वागत र महासचिव गणेश रास्कोटी एवं सदस्य हरिकला कुमालले सञ्चालन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij