२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध

शुक्रवार , आश्विन ९, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौँ, ९ असोज । अविरल वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।. 

    डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो । सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

    यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा यात्रा गर्ने सयौं यात्रुहरू र सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।

    सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ । डिभिजनका अधिकारीहरूका अनुसार, पानी पर्न रोकिएको अवस्थामा ५ घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ ।

    स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ । सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।