२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रामनगर खानेपानी आयोजनाको महशुलमा अस्वभाविक वृद्धि

शनिवार , जेठ ८, २०७८

नवलपरासी, ८ जेठ ।
नेपाल सरकारको कुल २२ करोड रुपैयाँ बजेटमध्ये ३० प्रतिशत जनश्रमदानको सहभागिता रहने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बुटवलबाट २०६८ सालमा सर्भे भई योजना प्रारम्भ भएको रामनगर बृहत खानेपानी तथा सरसफाइ आयोजनाले गत वर्षबाट खानेपानीको पाइप लाइन अझ व्यवस्थित तरिकाले विस्तार गर्दै उपभोक्तामाझ खानेपानी वितरण गर्दै आएको छ ।

उक्त आयोजनामार्फत पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाका ११, १२ र १३ नम्बर वडाका १६ सय भन्दा बढी घरधुरीहरु खानेपानीको पहुँचमा छन् । बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म दैनिक दुई चरणमा सो आयोजनाले उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको छ ।

यसरी खानेपानी वितरण गर्दै आएको सो आयोजनाले गत महिनाबाट भने खानेपानी वितरणमार्फत लिइदै आएको महशुलमा भने अस्वभाविक रुपमा वृद्धि गरेपछि उपभोक्ताहरु मारमा परेका छन् ।

यस अघि ५० युनिट देखि ७५ युनिटसम्म प्रति युनिट २० रुपैयाँ र ७५ युनिट भन्दा माथि युनिटको लागि जम्माप्रति युनिट जम्मा २० रुपैयाँ महशुल शुल्क कायम गरिएको भएतापनि वैशाख महिनादेखि सो आयोजनाले ३० देखि ४० युनिटसम्मको प्रति युनिट ३५ रुपैयाँ र ४० भन्दा माथि युनिटको लागि प्रति युनिट ४० रुपैयाँ महशुल शुल्क कायम गरेपछि उपभोक्ताहरु आक्रोशित भएका हुन् ।

पुर्व जानकारी नगराई खानेपानी रिडिङको समयमा एक्कासी दोब्बर भन्दा बढी महशुल शुल्क बढाई रिडिङ गरेको उपभोक्ता विष्णु आचार्यको गुनासो छ ।

यता आयोजनाका अध्यक्ष कृष्णप्रसाद पाण्डेले भने वार्षिक रुपमा हुने साधारणसभामार्फत नयाँ शुल्क समायोजन गर्नुपर्नेमा अहिलेसम्म पुरानै वर्षकै शुल्क कायम गरिएको बताएका छन् । गत वैशाखमा नगरपालिकाका उपप्रमुख र वडाध्यक्षसहितको सञ्चालक समितिको बैठक बसेर नगरपालिकाले खानेपानी सम्बन्धि केही नीतिनियम बनाएकाले त्यही नियमावली भित्र रहेर खानेपानीको महशुल शुल्क लिन निर्देशन गरेको भन्दै आयोजनाले उल्टै नगरपालिकालाई दोष दिएर पन्छिन खोजेको छ ।

सबै नागरिकले शुद्ध खानेपानी पिउन पाउनुपर्ने नैसर्गिक अधिकार हो । तर शहरी क्षेत्रमा जस्तै ग्रामीण बस्तीमा पनि खानेपानीको महशुल वृद्धि हुनुले दैनिक ज्याला मजदूरी गरी परिवार चलाउनेहरु भने निकै मारमा परेका छन् ।