२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

महामन्त्री आचार्यको दावी : रास्वपामा विधिभन्दा बाहिर गएर कसैले टिकट पाउँदैन

आइतवार , आश्विन १८, २०८३

  • 610
    Shares
  • 610
    Shares
  • भैरहवा, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले एकजना व्यक्तिले पनि विधिभन्दा बाहिर गएर निर्वाचनमा टिकट नपाउने दावी गर्नुभएको छ । उहाँले विशेष गरी चुनावमा टिकट नपाउने व्यक्तिले मैले के कारणले पाइन भन्ने प्रष्ट जानकारी पाउनुपर्नेमा जोड दिनुभयो ।

    आइतबार रुपन्देहीको सियारी गाउँपालिका–५ मा आयोजित नेता–कार्यकर्तासँगको भेटघाट कार्यक्रममा महामन्त्री आचार्यले कोही व्यक्ति नेताको नजिक भएकै कारणले टिकट पाउने र कोही क्षमता हुँदाहुँदै पनि नपाउने कुरा योपटकको निर्वाचनमा पूर्णरुपमा अन्त्य हुने दावी गर्नुभयो ।

    ‘आउने स्थानीय तहको निर्वाचनमा आफूलाई कहीकतै उम्मेदवारको रुपमा देखिरहनुभएको छ भने मिहिनेत गर्ने बेला आयो । मिहिनेतबिना योपटक टिकट पनि पाइँदैन, यसमा ढुक्क हुनुस्, ’उहाँले भन्नुभयो–‘कतिपय साथीहरुले टिकट दिइ पनि सक्नुभयो होला, तँ यहाँको मेयर, तँ यहाँको वडाध्यक्ष भनि पनि सक्नुभयो होला । तर, एकजना व्यक्तिले पनि विधिभन्दा बाहिर गएर टिकट पाउँदैन ।’

    केन्द्रीय समिति सदस्य अथवा कुनै नेताले म तँलाई टिकट दिन्छु, म मिलाइदिन्छु अथवा म यस्तो गर्छु भन्ने कुरा कहीकतै सुने प्रमाणका रुपमा राख्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘अनुचित लेनदेन गर्ने पार्टी सदस्य कोही रहेछ भने पार्टी सदस्यबाट बाहिर पुर्याउने जिम्मा पनि हाम्रो हो, ’महामन्त्री आचार्यले भन्नुभयो ।

    उहाँले गलत गरिए जुनसुकै सानो ओहदामा रहेको पार्टीको सदस्यले पनि रास्वपाको सदस्य गर्यो भनेर ‘मिडियाको हेडलाइन’ बन्ने बताउनुभयो । ‘हामीलाई समाजले एउटा सुसंंस्कृत राजनीति गर्ने पार्टीको रुपमा देख्न चाहेको छ । तपाई हामी सबैजनाले आफैलाई प्रश्न गर्नुपर्ने कुरा के हो भने म त्यो दिशामा गइरहेको छु कि छैन, ’उहाँले भन्नुभयो–‘अहिलेसम्म त केन्द्रका नेताहरुलाई अथवा केन्द्रका सांसद्हरुलाई गाली पनि गर्न पाइन्थ्यो । अब केही समयपछि तपाईहरु उत्तर दिने ठाउँमा पुग्दै हुनुहुन्छ । ’

    प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका आचार्यले इतिहासले इमान्दार कोशिष गरेकै कारणले स्याबासी दिने जमाना अब गइसकेको बताउनुभयो । ‘इतिहासले हामीलाई समाज बनाउने जिम्मेवारी दिइसकेपछि कि त त्यो जिम्मेवारी लिन हुन्थेन, अब जिम्मेवारी लिन्छु भनेर पार्टीको यात्रामा अगाडि बढिसकेपछि इमान्दार कोशिष मात्र गरेको भन्न पाइँदैन, ’उहाँले भन्नुभयो ।

    उहाँले रवि लामिछाने र बालेन्द्र शाहबीचको सम्झौता व्यक्तिबीचको नभइ इतिहाससँग गरिएको सम्झौता पार्टी सभापतिले भन्नुभएको स्मरण गर्दै  इतिहासलाई धोका दिन कसैले पनि नमिल्ने बताउनुभयो ।

    ’केन्द्रबाट कोही नेता आउँदैछ भने म नेतासँग नजिक छु भनेर देखाउन आवश्यक नपरेको ठाउँमा नलैजान उहाँले आग्रह गर्नुभयो । ‘केन्द्रबाट आउने नेताहरुलाई सही दिशानिर्देश गर्ने जिम्मेवारी तपाईहरुको हो, ’उहाँले भन्नुभयो ।

    पार्टीका नेता हरि ढकालले पहिला माओवादीहरु जंगल पसेर सरकारमा आए, रास्वपाका साथीहरुले राम्रो काम गरेनन् भने सरकारबाट जंगल पस्नुपर्छ भन्ने कुरा पनि स्मरण गर्नुभयो । ‘यति कुराहरु याद राख्नुभयो भने गलत कर्महरु हामी गर्दैनौं । कसैले गलत काम गर्यो भने भन्न नडराउनुहोला, ’उहाँले भन्नुभयो ।

    विवेक बन्धकी राखेर नेता लामो यात्रा तय गर्नै नसक्ने उहाँले बताउनुभयो । ‘कसैले गरेको गल्तीहरुलाई नदरअन्दाज गर्नुहुन्छ भने तपाई पनि त्यो गल्तीको कही न कही भागिदारी हो । नेताका रुपमा आफूभन्दा माथिका नेताहरुले गलत गर्दा अझ बढी प्रश्न गर्नुपर्छ, ’महामन्त्री आचार्यले भन्नुभयो ।

    रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।