२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

बुधवार , आश्विन २१, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • काठमाडौँ, २१ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ । 

    नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको हो । उहाँले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताउनु भयो ।

    उहाँले आफूले नै केन्द्रिय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर काँग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रश्ताव राखेको उहाँले स्मरण गर्नुभयो । मन्सुरले १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई काँग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्नुभयो । सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै काँग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘२३–२४ भदौपछि एउटा जुन जनताको बीचमा र नेपाली काँग्रेसको बीचमा निराशाको अवस्था थियो, आक्रोश थियो, त्यो बेला नेपाली काँग्रेसले नयाँ नीति, नयाँ नेता लिएर जानुपर्छ जनताको बीचमा र गगन थापालाई प्रधानमन्त्रीको र सभापतिको फेस बनाएर जानुपर्छ भने केन्द्रीय कार्यसमितिमा मैले यो कुरा राख्दाखेरि देशभरिका नेपाली कांग्रेसका साथीहरूको मनमा त्यो कुरा थियो र एउटा विचार देशभित्र र देशबाहिर पनि कांग्रेसका साथीहरूले एउटा व्यापक यो भावना अगाडि बढ्दै गएर विशेष महाधिवेशनबाट काँग्रेस रूपान्तरित भयो, कांग्रेसबाट नयाँ विचारको स्थापना भयो ।

    त्यसको अभियन्ताको रूपमा पनि म यहाँ तपाईंहरूको बीचमा उपस्थित भएको छु । यी कांग्रेस पार्टी र मेरो जीवन नै कांग्रेस पार्टीमा समर्पित भएको पार्टी हो र मैले राजनीतिमा लाग्दाखेरि अहिलेसम्म काँग्रेसको प्रति इमान्दारीपूर्वक लागेको छु । अहिले कांग्रेसले जुन किसिमको रूपान्तरण खोजेको छ, नेपाली जनताका बीचमा १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम र नीतिलाई कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहनेछ ।’

    पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा आफूले योगदान गर्न आफूले १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको बताउनु भयो ।