बिहिवार , आश्विन २२, २०८३
भैरहवा, २२ असोज । विश्व दृष्टि दिवस–२०२६ को अवसरमा रुपन्देहीको भैरहवामा प्रभातफेरी निकालिएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रुपन्देही र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको संयुक्त आयोजनामा बिहीबार बिहान प्रभातफेरी निकालिएको हो ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री रण अम्बिका आँखा अस्पतालबाट सुरु भएको प्रभातफेरी देवकोटाचोक, बैंकरोड, मिलनचोक, मैत्रीपथ खजहनापथ हुँदै पुनः आँखा अस्पतालमा पुगेर समापन भएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो । प्रभातफेरीमा सहभागीहरुले विभिन्न आँखासम्बन्धी विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेकार्ड पुगेका थिए ।
प्रभातफेरी समापन कार्यक्रममा बोल्नहुँदै अस्पताल व्यवस्थापन समितिका सदस्य तथा विश्व दृष्टि दिवस समारोहका संयोजक गणेश बहादुर क्षेत्रीले प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार जिल्ला कारागार रुपन्देहीमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा कार्यरत नेत्ररोग विशेषज्ञ, कर्मचारी, विद्यार्थी लगायतको सहभागीतामा प्रभातफेरी कार्यक्रम गरिएको बताउनुभयो ।
त्यस्तै बिहीबार बिहान अस्पतालमा उपचारका लागि आएका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । कार्यक्रममा बोल्नुहुँदै अस्पतालको चिफ मेडिकल डाइरेक्टर प्रा.डा.सुशीला पटेलले आँखा शरीरको संवेदनशील र महत्वपूर्ण अंग भएकोले यसको हेरचाहमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले श्री रण अम्बिका शाह आँखा अस्पतालले बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका सभापति वरिष्ठ अधिवक्ता कमलराज जोशी, अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद पन्थी, नारायण प्रसाद अग्रवाल, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी, सह–व्यवस्थापक तुल्सी प्रसाद पराजुली, पूर्व राज्यमन्त्री हकिकुल्ला खाँ, पूर्व वडाअध्यक्ष थानेश्वर पौडेललगायतको उपस्थिति थियो ।
‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यस वर्ष विश्व दृष्टि दिवस मनाइँदैछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij