बिहिवार , आश्विन २९, २०८३
भैरहवा, २९ असोज । धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा डाण्डीया नाइट एवं भव्य भगवती रात्री जागरण आयोजना हुने भएको छ ।
श्री श्री दुर्गा पूजा समिति, मैत्रीपथ–५, अखडा नं. २ को आयोजनामा कार्तिक २ गते डाण्डीया नाइट र कार्तिक ३ गते भव्य भगवती रात्री जागरण हुन लागेको हो । दुवै कार्यक्रम राति ७ बजेदेखि सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित शिव मन्दिर अगाडि सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिन बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रवि जयसवालले गतवर्ष आयोजना गरिएको डाण्डीया नाइट र रात्री जागरणलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको बताउनुभयो ।
कार्यक्रम संयोजक दीपेश गुप्ताले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
कार्यक्रम सफल बनाउन वडा नम्बर ५ र ६ का विभिन्न व्यक्तित्व तथा स्थानीयबासीबाट सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले सम्पूर्ण नगरबासीलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । ‘सबैको साथ र सहयोगले हामीलाई थप हौसला मिलेको छ । संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउन हाम्रो टीम सक्रिय रूपमा लागेको छ,’ गुप्ताले भन्नुभयो ।
अग्रहरी महिला मञ्च सिद्धार्थनगर, रुपन्देहीको अध्यक्ष गायत्री अग्रहरीले डाण्डीया कार्यक्रम आयोजना गर्ने सुझाव आफूले सुरुमै दिएको बताउनुभयो । डाण्डीया नृत्यमा मात्र सीमित नभई धार्मिक आस्था, साँस्कृतिक पहिचान र एकताको प्रतीकसमेत भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले यो कार्यक्रमले सामाजिक सद्भाव बढाउन र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समितिका सचिव विशाल श्रीवास्तवले विजयादशमीलाई विभिन्न कार्यक्रममार्फत हर्षोल्लासका साथ मनाउने परम्परालाई निरन्तरता दिँदै धार्मिक तथा साँस्कृतिक गतिविधि आयोजना गर्न लागिएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले धर्म र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिननुभयो । धर्म–संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमका लागि वडा कार्यालयले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ । वडाअध्यक्ष श्रेष्ठका अनुसार यो कार्यक्रमका लागि वडा कार्यालयले गत वर्ष ३० हजार रुपैयाँ सहयोग गरेकोमा यसवर्ष ४० हजार रुपैयाँ सहयोग गर्नेछ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका उपाध्यक्ष दीपेन्द्र बडुवालले भैरहवामा विशेष ढंगले आयोजना गर्न लागिएको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । विभिन्न समुदायको बसोबास रहेको भैरहवामा यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी विश्वास बढाउन सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले मौलिक कला तथा संस्कृतिको संरक्षणमा गर्नुपर्नेमा जोड दिनुभयो । युवा पुस्ता नै कार्यक्रमको नेतृत्वमा अगाडि सर्नु सकारात्मक भएको उहाँको भनाइ छ ।
यसैबीच रसुवालगायत विभिन्न जिल्लामा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै विशेष पूजासमेत गरिने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij