मंगलवार , कार्तिक १०, २०८३
भैरहवा, १० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, महिला तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न पार्टीलाई पुनः जिताउनुपर्ने बताएका छन् ।
दीपावली, भाइटीका एवं छठपर्वको अवसरमा जसपा नेपाल रोहिणी गाउँपालिका कार्यसमिति, रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा जसपा नेपालको केन्द्रीय सदस्य सावित्रा वि.क.ले देश अहिले विषम परिस्थितिमा रहेको र महंगी बढेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेकाहरूले आफ्नै पार्टीका भ्रष्टाचारीलाई संरक्षण गरेको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । वर्तमान सरकारप्रति जनताको असन्तुष्टी बढ्दै गएको दावी गर्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा जसपा नेपाललाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । किसानको दुःख र महंगीको पीडा नबुझ्नेहरू सत्तामा पुगेकाले जनताका समस्या समाधान हुन नसकेको उहाँको भनाइ थियो ।
रोहिणी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण, सडक, विद्युत् तथा अन्य पूर्वाधार विकासका काम भएकाले भन्दै उहाँले अधुरा काम पूरा गर्न जसपा नेपाललाई पुनः अवसर दिनुपर्ने बताउनुभयो । मधेशी, जनजाति र दलितलगायत समुदायको अधिकार प्राप्तीका लागि पार्टीलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै जसपा नेपालका केन्द्रीय सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले पार्टीविरुद्ध गाउँघरमा भ्रम फैलाउने काम भइरहेको बताउनुभयो । मधेशी, दलित, महिला, आदिवासी जनजाति, मुस्लिम तथा उत्पीडित समुदायको अधिकारका लागि आवाज उठाउँदै आएको पार्टी जसपा नेपाल भएको उहाँको भनाइ थियो । संघर्षकै उपलब्धीका रूपमा देशमा संघीयता आएको उल्लेख गर्दै यादवले आफू पनि संघीय व्यवस्थाकै कारण गाउँपालिका अध्यक्ष बन्ने अवसर पाएको बताउनुभयो । आफूले व्यक्तिगत स्वार्थभन्दा जनताको सेवामा ध्यान दिएको दावी गर्दै उहाँले विभिन्न अवसर आए पनि स्वार्थका लागि पार्टी परिवर्तन नगरेको स्पष्ट पार्नुभयो ।
आफ्नो नेतृत्वमा सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै १५ शय्याको अस्पताल भवन निर्माणको काम करिब ७० प्रतिशत सम्पन्न भएको, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको र विभिन्न विद्यालयमा भवन बनाइएको उहाँले बताउनुभयो । यादवका अनुसार गाउँब्लक जग्गाअन्तर्गत चार हजार नागरिकलाई लालपुर्जा वितरण गरिएको छ भने गाउँपालिकामा जन्मिने बालिकाका लागि बालिका बीमाको व्यवस्था गरिएको छ । आफूले अघि सारेका अधुरा काम पूरा गर्न पुनः नेतृत्व गर्न तयार रहेको बताउँदै उहाँले आगामी निर्वाचनमा जसपा नेपाललाई बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो । बहुमत नहुँदा सोचेजति काम गर्न नसकिएको उहाँको भनाइ थियो ।
जसपा नेपालको केन्द्रीय सदस्य निलम यादवले रोहिणी गाउँपालिकाको विकासमा विद्या प्रसाद यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । व्यक्तिगत स्वार्थ पूरा नभएका व्यक्तिहरूले यादवविरुद्ध भ्रम फैलाएको आरोप लगाउँदै उहाँले अधुरा काम पूरा गर्न आगामी स्थानीय निर्वाचनमा पुनः अवसर दिन आग्रह गर्नुभयो ।
जसपा नेपालका केन्द्रीय सदस्य राजेश रञ्जन बर्मा (अजय वर्मा)ले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभयो । सीमावर्ती क्षेत्रमा सर्वसाधारणले सास्ती खेप्नुपरेको, घरायसी प्रयोजनका लागि भारतबाट ल्याइएका सामानसमेत प्रहरीले नियन्त्रणमा लिने गरेको र किसानले पर्याप्त मल नपाएको उहाँको भनाइ थियो । उहाँले छठपर्वपछि ठूलो आन्दोलन हुन सक्ने चेतावनी दिँदै संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो । आफूहरू सरकार गिराउने पक्षमा नभएको उल्लेख गर्दै उहाँले संविधानमा रहेका त्रुटी सच्याउन र जनताका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले नयाँ सरकारले विकास निर्माणका ठोस काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकारका मन्त्रीहरू कामभन्दा प्रचारमा केन्द्रित भएको टिप्पणी गर्दै उहाँले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने माग गर्नुभयो । उहाँले मधेशी समुदायबाट प्रधानमन्त्री बन्नु मात्रै पर्याप्त नभइ नेतृत्वमा मधेशीपन र उत्पीडित समुदायप्रतिको प्रतिबद्धता पनि आवश्यक रहेको बताउनुभयो । रोहिणी गाउँपालिकामा जसपा नेपाललाई बहुमतसहित विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।
पार्टीका पूर्व प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँले निर्वाचनमा हारजित स्वाभाविक भए पनि अधिकार प्राप्तीको संघर्ष निरन्तर जारी रहने बताउनुभयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग गर्दै उहाँले रोहिणी गाउँपालिकामा विकास निर्माणका काम भएको दावी गर्नुभयो ।
जसपा नेपालका रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले आगामी स्थानीय तह निर्वाचनमा प्रत्येक वडा र पालिकामा पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो । रोहिणीका अध्यक्ष विद्या प्रसाद यादव जनताको बीचमा रहेर काम गर्ने नेता भएको उल्लेख गर्दै उहाँले गाउँपालिकाको प्रशासनिक भवन निर्माणसहित विभिन्न कामलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष कलामुद्दीन खाँ, जिल्ला सचिव विष्णु अधिकारी, सिद्धार्थनगर नगरपालिकाका उपाध्यक्ष मनोज प्रजापति, रोहिणी गाउँपालिकाका अध्यक्ष घनश्याम सिंह क्षेत्री, युवा समाजसेवी विजय यादव, सतिशचन्द्र मिश्रा, विन्दु पाण्डे, समाजवादी विद्यार्थी युनियन नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादव तथा युवा नेता विनय यादवले मन्तव्य राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij