२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

गाउँब्लक जग्गाको समस्या समाधानमा भूमिका खेलेको भन्दै प्रमुख नापी अधिकृत सम्मानित

शुक्रवार , कार्तिक २०, २०८३

  • 916
    Shares
  • 916
    Shares
  • भैरहवा, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ नम्बर वडा कार्यालयले गाउँ ब्लक जग्गासम्बन्धी जानकारी, शुभकामना आदानप्रदान तथा अतिथि सम्मान कार्यक्रम गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँब्लक जग्गाको समस्या समाधानका लागि सहजीकरण गरेको भन्दै नापी कार्यालय, रुपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलाई वडा कार्यालय तथा वडाबासीले सम्मान गरेका छन् ।

    कार्यक्रममा वडाध्यक्ष उज्ज्वल पोखरेलले गाउँब्लक जग्गाको समस्या लामो समयदेखि समाधान हुन नसक्दा स्थानीयबासीले सास्ती भोग्नुपरेको बताउनुभयो । विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिएको कामलाई प्रमुख नापी अधिकृत रेग्मीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउन र मन्त्रिपरिषद्बाट निर्णय गराउन पनि सहजीकरण गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘विभिन्न समस्या र प्रक्रियागत जटिलताका कारण हाम्रो काम अघि बढ्न सकेको थिएन । उहाँले फिल्डमै आएर समस्या बुझ्नुभयो र आवश्यक प्रक्रिया अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ वडाध्यक्ष पोखरेलले भन्नुभयो–‘उहाँको पहल नभएको भए हाम्रो काम अघि बढ्ने थिएन । त्यसैले व्यक्तिगत रूपमा र सम्पूर्ण वडाबासीकातर्फबाट धन्यवादसहित सम्मान गरेका हौं ।’

    सम्मानप्रति आभार व्यक्त गर्दै प्रमुख नापी अधिकृत रेग्मीले आफूले ठूलो काम नगरी पदीय जिम्मेवारी मात्र पूरा गरेको बताउनुभयो । नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार गाउँब्लक तथा जग्गा प्रशासनसम्बन्धी काम अघि बढाएको उल्लेख गर्दै उहाँले सिद्धार्थनगर–१ को गाउ ब्लक जग्गाको प्रक्रिया अब नरोकिने बताउनुभयो । ‘अब केही समयपछि यहाँका स्थानीयले जग्गाधनी प्रमाणपुर्जा पाउनुहुन्छ । ढिलाइ भयो भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । आवश्यक प्रक्रिया मिलिसकेको छ,’ उहाँले भन्नुभयो, ‘कतिपय विषय विभागबाट समेत सहजीकरण गरिएको छ ।’

    रेग्मीले स्थानीयबासीको सहयोग र साथले काम अघि बढाउन सहज भएको बताउँदै जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि आफ्नो सहयोग र प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखलाईसमेत सहभागी गराएर भव्य रूपमा पूर्जा वितरण कार्यक्रम आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।

    asss.jpg

    कार्यक्रममा वडाबासी तथा पूर्वशिक्षक राधेश्याम अग्रहरीले वडाध्यक्षसहित वडा समिति परिवार र नापी कार्यालयले गरेको अथक प्रयासको प्रशंसा गर्दै प्रतिबद्धताअनुसार काम अघि बढेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    वडा सचिव विनोद कुमार कर्णको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।