२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

सिद्धार्थनगर–८ को रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन

शुक्रवार , कार्तिक २०, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ नम्बर वडा कार्यालयले बिहीबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्‍याउने तथा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्वस्थ व्यक्तिलाई वर्षमा कम्तीमा दुईपटक रक्तदान गर्न आग्रह गर्नुभयो । रक्तदानले अरूको जीवन बचाउनुका साथै रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । रक्तदान सबैभन्दा ठूलो दान भएको उहाँको भनाइ थियो ।
    त्यस्तै वडाध्यक्ष राजन जंग राणाले ब्लड बैंकमा रगतको अभाव रहेकाले सबैलाई आ–आफ्नो क्षेत्रबाट रगत संकलन अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

    fdf18bba-0604-4960-a4f3-79df405693d9.jpg

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले जिल्लामा रगतको व्यवस्थापन गर्ने जिम्मेवारी रेडक्रसले निर्वाह गर्दै आएको बताउनुभयो । समाजका अगुवा, सामाजिक अभियन्ता, संघ–संस्था तथा आम नागरिकको साथ र सहयोगमा जिल्लामा रगतको सहज व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो । चाडपर्वका समयमा हुन सक्ने रगतको अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने उहाँको भनाइ थियो ।

    कार्यक्रम संयोजक एवं वडा सदस्य हरि प्रसाद आचार्यको स्वागत तथा वडा सचिव मानुषी ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्ववडाध्यक्ष राजेन्द्र प्रसाद पन्थी, इन्जिनियर जीवन अर्याल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यकारी उपसचिव खगेन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका लेखा संयोजक पवन पौडेललगायतको आतिथ्यता रहेको थियो ।

    76ec6d27-44b9-49c5-bfd0-02525ed5e32c.jpg

    कार्यक्रममा वडा सदस्य थानेश्वर पाण्डे (प्रकाश), सरस्वती ज्ञवाली, रुपा बराइली, समाजसेवी कृष्ण बस्नेत, महेश्वर पौडेल, टंक ज्ञवाली, सन्तोष भुसाल, भुवन राणा र सतिश आचार्यलगायतको उपस्थिति थियो ।

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको रक्त सञ्चार सेवा इकाइ भैरहवा (युसीयमयस) को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २५ यूनिट रगत संकलन भएको थियो ।