२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

बाख्राले बाघ थुनेको सिद्धार्थनगर : अब कस्तो नेतृत्व ?

आइतवार , कार्तिक २९, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • फोहोर र अव्यवस्थाको चपेटामा परेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई आगामी स्थानीय निर्वाचनपछि आउने नेतृत्वले मुक्ति दिन सक्ला कि फेरि राजनीतिक खिचातानीको सिकार भएर नगर थप अस्तव्यस्त बन्ला ? अबको नेतृत्व, फोहोरमैला व्यवस्थापन र विकासको दीर्घकालीन दृष्टिकोणबारे गम्भीर बहस आवश्यक छ ।

    सिद्धार्थनगर नगरपालिका लुम्बिनीको प्रवेशद्वार मात्र होइन, विकासका अथाह सम्भावना बोकेको ऐतिहासिक क्षेत्र पनि हो । वि.सं. २०४६ देखि २०८३ सम्म आइपुग्दा यस नगरपालिकाले बस्ती विस्तार, सडक, पूर्वाधार र पर्यटनका क्षेत्रमा अनेकौँ उतारचढाव देखिसकेको छ । तर, आज पनि नगरको विकासको गति र आम नागरिकको अपेक्षाबीच ठूलो खाडल छ । आगामी निर्वाचनमा मेयर पदका आकांक्षीहरू चाहे दलीय हुन् वा स्वतन्त्र, उनीहरूले यस नगरका वास्तविक समस्या बुझेर समाधानको स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ ।

    यहाँको राजनीतिक परिवेशलाई गहिरिएर नियाल्ने हो भने एउटा रोचक प्रवृत्ति देखिन्छ । यहाँ जात, धर्म र लिंगका आधारमा खासै राजनीतिक विभाजन देखिँदैन । आज एउटा राजनीतिक दलमा आबद्ध भएको व्यक्ति भोलि नै अर्को दलमा प्रवेश गरिरहेको हुन्छ । राजनीतिक आस्था परिवर्तनलाई पनि सहज रूपमा स्वीकार गर्ने संस्कार यहाँ देखिन्छ । विचारहरू मिलेर नयाँ विचार बनिरहेका छन् भने फरक विचारभित्र पनि समानता खोज्ने प्रयास भइरहेको छ । मिल्दा पनि उस्तै, फरक हुँदा पनि उस्तै !

    तर, यही राजनीतिक लचकता र सहअस्तित्वले नगरको विकासलाई अपेक्षित गति दिन सकेको छ त ? प्रश्न गम्भीर छ ।
    यहाँ कुनै व्यक्ति वा समूह कसैको स्थायी विरोधी, बैरी वा प्रतिपक्ष बन्न चाहँदैन जस्तो देखिन्छ । सायद यही प्रवृत्तिका कारण पनि सिद्धार्थनगरले विकासको अपेक्षित काँचुली फेर्न नसकेको हो कि ? नगरका महत्वपूर्ण कार्यालयहरू अन्यत्र सर्दै जाँदा पनि अपेक्षित खबरदारी हुन सकेको छैन । नगरको भौतिक, भौगोलिक र समग्र विकासप्रति नागरिकको चासो र सक्रियता कमजोर देखिन्छ । स्पष्ट भन्नुपर्दा, यहाँका सार्वजनिक सरोकारका विषयमा नागरिक तहबाट सशक्त आवाज उठेको कमै देखिन्छ ।

    कतै सिद्धार्थनगरबासी मुकदर्शक बनिरहेका त छैनन् ? कतै उनीहरूलाई डर, निराशा वा राजनीतिक प्रभावले मौन बस्न बाध्य बनाएको त छैन ? कतै यहाँका अवसरको उपयोग गर्ने तर, नगरको समग्र विकास र भविष्यप्रति जिम्मेवार नबन्ने प्रवृत्ति त मौलाइरहेको छैन ? अन्यत्र विकास र सुविधा खोज्दै मानिसहरू बसाइँ सर्छन्, फेरि नयाँ अवसरको खोजीमा अन्यत्रबाट मानिसहरू यहाँ आइपुग्छन् । जनघनत्व उस्तै देखिन्छ, तर नगरको विकासको बहस भने जहाँको त्यहीँ छ ।

    आज सिद्धार्थनगरभित्रको राजनीतिक र विकासको अवस्था ‘बाघचाल’ खेलजस्तै भएको छ, जहाँ बाख्राले बाघलाई थुन्ने प्रयास गरिरहेको छ, तर बाघ भने उम्कन सकेको छैन । नगरका समस्या समाधान गर्न कार्यकारी अधिकारसहितको नेतृत्वमा पुगेको मेयरसमेत अपेक्षाअनुसार सफल हुन नसक्नुको कारण के हो ? नेतृत्वको अज्ञानता, कार्यक्षमताको कमजोरी वा राजनीतिक खिचातानी ? यसको जवाफ खोज्नैपर्छ ।

    यहाँ एउटा दलले अर्को दललाई पछार्न खोज्दा विकासका कामसमेत प्रभावित भइरहेका छन् । दलगत स्वार्थ र राजनीतिक प्रतिष्पर्धाको सिकार अन्ततः नगर र नगरबासी बन्नुपरेको छ । अहिले फोहर व्यवस्थापनको अव्यवस्थाले नगर आक्रान्त छ । सार्वजनिक जग्गा होस् वा निजी जग्गा, फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान र दीर्घकालीन योजना बनाउन नगरपालिका किन असमर्थ भइरहेको छ ? के नगरपालिकासँग फोहर व्यवस्थापन गर्ने इच्छाशक्ति छैन, कि राजनीतिक सहमति जुटाउन सकिरहेको छैन ? यो प्रश्नको जवाफ नगरवासीले खोजिरहेका छन् ।

    जनताको मनोविज्ञान पनि कम रोचक छैन । दरखसवा पार्क र डण्डाको गेट निर्माण हुँदा अपेक्षित विरोध सुनिएन, तर आज फोहर व्यवस्थापनको विषयमा चर्को असन्तुष्टि व्यक्त भइरहेको छ । के त्यतिबेला फोहरको समस्या थिएन ? अवश्य थियो । तर, जनतालाई आकर्षक संरचना र देखिने विकासले बढी प्रभावित बनायो, जबकि आधारभूत आवश्यकता र दीर्घकालीन योजनाहरू ओझेलमा परे ।

    विकास भनेको पार्क, गेट र सडक निर्माण मात्र होइन । विकासको वास्तविक अर्थ नागरिकको स्वास्थ्य, सरसफाइ, वातावरणीय स्वच्छता, व्यवस्थित बस्ती र सहज जीवनयापनसँग जोडिएको हुन्छ । विकासका प्राथमिकता निर्धारण गर्न नसक्दा आज यस्तो अवस्था सिर्जना भएको हो । यदि योजनाबद्ध ढंगले काम गर्ने दूरदृष्टि राखिएको भए, नगरका स्रोतसाधन र उपलब्ध पूर्वाधारलाई फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा उपयोग गर्न सकिन्थ्यो । दरखसवा पार्क र डण्डाको गेट निर्माणमा गरिएको लगानीको औचित्यमाथि पनि विकासका प्राथमिकताका आधारमा समीक्षा गर्न सकिन्छ । त्यसबेला फोहर प्रशोधन केन्द्र, आधुनिक प्रशोधन संयन्त्र र व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिन सकिएको भए आजको समस्या फरक हुन सक्थ्यो ।

    अब आउने मेयरले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ–चुनावमा भोट माग्नु मात्र नेतृत्वको जिम्मेवारी होइन । जनताबाट निर्वाचित भएपछि विकास निर्माणमा देखिएका अवरोध हटाउने, राजनीतिक असहमतिलाई व्यवस्थापन गर्ने र नगरको हितमा कठोर निर्णय लिन सक्ने साहस पनि नेतृत्वमा हुनुपर्छ । विशेष गरी सिद्धार्थनगरमा विकासका कामलाई गति दिन यहाँका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई एउटै साझा एजेण्डामा सहमत गराउन सक्ने नेतृत्व आवश्यक छ । दलगत स्वार्थभन्दा माथि उठेर नगरको हितमा सहकार्य र सहमतिको वातावरण निर्माण गर्न सक्ने व्यक्ति नै अबको नेतृत्वका लागि योग्य हुनेछ ।

    त्यसैले आगामी निर्वाचनमा मेयर पदका आकांक्षीहरूले जनतासामु केवल आश्वासनको पोको होइन, ठोस कार्ययोजना प्रस्तुत गर्नुपर्छ । फोहर व्यवस्थापन कहाँ, कसरी र कुन प्रविधिबाट गर्ने ? त्यसका लागि आवश्यक जग्गा, स्रोतसाधन र बजेटको व्यवस्थापन कसरी गर्ने ? विकास निर्माणमा देखिएका राजनीतिक तथा प्रशासनिक अवरोध कसरी हटाउने ? नगरका ऐतिहासिक, पर्यटकीय र आर्थिक सम्भावनालाई कसरी उपयोग गर्ने ? यी प्रश्नको स्पष्ट जवाफ उम्मेदवारहरूको घोषणापत्रमा हुनुपर्छ । यस्ता विषयमा ठोस योजना र कार्यान्वयनको प्रतिबद्धता प्रस्तुत गर्न नसक्ने उम्मेदवारका लागि मतदाताको विश्वास जित्नु सहज हुनेछैन ।
    अबको सिद्धार्थनगरलाई केवल गेट, पार्क र देखावटी पूर्वाधार बनाउने नेतृत्व होइन, समस्याको जड पहिचान गरी दीर्घकालीन समाधान दिन सक्ने दूरदर्शी नेतृत्व चाहिएको छ । नगरको फोहर व्यवस्थापनदेखि सुशासन, पारदर्शिता, विकासको प्राथमिकता र नागरिकको जीवनस्तर सुधारसम्म स्पष्ट दृष्टिकोण भएको नेतृत्वको आवश्यकता छ ।

    अब सिद्धार्थनगरवासीले आकर्षण होइन, आवश्यकता रोज्नुपर्छ । आश्वासन होइन, कार्ययोजना खोज्नुपर्छ । राजनीतिक स्वार्थ होइन, नगरको भविष्यलाई प्राथमिकता दिनुपर्छ । किनकी अबको निर्वाचन केवल मेयर छान्ने प्रक्रिया मात्र होइन, सिद्धार्थनगरको आगामी पाँच वर्षको भविष्य तय गर्ने अवसर पनि हो ।