२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

तिहारको उज्यालोमा हराउँदै गएको खुसी

आइतवार , कार्तिक २९, २०८३

  • 925
    Shares
  • 925
    Shares
  • तिहारको औंशीको साँझ । बजारबाट ल्याइएका झिलिमिली बत्तीहरूले घरका झ्यालढोका र आँगन उज्याला थिए । तिहारको चहलपहल थियो । पूजा गर्ने सामग्री, फूलमाला, मिठाई, नयाँ लुगा र आफ्ना मान्छेहरूको जमघट थियो । बाहिर झिलिमिली बत्तीको कुनै कमी थिएन । तर, मनभित्र भने कताकता अँध्यारो र रित्तोपन थियो । सबै कुरा भएर पनि केही नभएजस्तो !

    साँझपख मेरा दुईजना बजैहरु (बज्याइहरु) आपसमा गफिँदै हुनुहुन्थ्यो । उमेरले ७० काटिसक्नुभएका उहाँहरू बिहान नियमित औषधि खानुहुन्छ । साँझ परेपछि आफ्नै लोकल औषधि पनि छुटाउनुहुन्न ! बिहानको औषधिले शरीरको हिसाबकिताब मिलाउँछ । साँझको लोकल औषधिले जीवनभरीको सुख दुःखको हिसाब मिलाउँछ । त्यो उहाँहरू नै जान्नुहोला ! त्यसपछि सुरु हुन्छ पुराना दिनका कुरा ।  अलि लड्बडिएको बोली, बारम्बार दोहोरिने एउटै वाक्य–‘ए ! के जमाना आयो यस्तो, हाम्रो पालामा यस्तो कहाँ हुन्थ्यो र ?’

    मभने उहाँहरूका कुरा कान थापेर सुनिरहेकी थिएँ । उहाँहरूको त्यो लड्बडिएको बोलीभित्र कताकता आफ्नै बाल्यकालका तिहारहरू सुनिरहेकोजस्तो लाग्थ्यो । उहाँहरूका कुरा सुन्दा लाग्यो–अहिलेको समयसँग पुरानो समयको अदृश्य बहस चलिरहेको छ । मलाई, त्यही साँझ एउटा प्रश्नले घच्घच्याइरहेको थियो–तिहार त आयो, सबै कुरा छन् । तर, मन किन यति रित्तो, किन तिहार तिहारजस्तो लागिरहेको छैन ?

    एकातिर बज्यैहरूको पुस्ताले अनुभव गरेको खल्लोपन थियो । अर्कातिर मैले आफै महसुस गरेको खल्लोपना । आखिर यी दुई खल्लोपनभित्र के कुरा लुकेको छ ? के हामीले साँच्चै केही गुमाउँदै गएका छौं, कि समयसँगै परिवर्तन भएको उत्सवलाई स्वीकार गर्न नसकेको मात्र हो ?

    मैले आफूलाई सम्झाएँ । बाल्यकाल फर्केर नआएपछि यस्तै लाग्ने होला । उमेर बढ्दै जाँदा रमाइलो गर्ने क्षमता समेत घट्दै जाने हो कि ? तर, मनले त्यति सजिलै चित्त बुझाएन । पहिलेभन्दा अहिले हामीसँग धेरै सुविधा छन् । बजारमा चाहिएका सबै सामग्री पाइन्छन् । सजिलै घर सजाउन सकिन्छ । राम्रा लुगा लगाउन सकिन्छ । मन लागेको खानेकुरा छिट्टै बनाउन सकिन्छ । फोटो खिच्न क्यामेरा छ । गीत बजाउन मोबाइल छ । नाँच्न साउण्ड सिस्टम छ । तिहार मनाउन चाहिने सामानको सूचीमा त केही छुटेको छैनजस्तो लाग्छ । तर, खुसीको सूचीमा चाहिँ कुन वस्तु छुट्यो त ?

    उत्तर खोज्न मैले आफूलाई बाल्यकालतिर फर्काउने प्रयास गरें ।  सम्झनाहरू अलि धमिला भइसकेका थिए । ती सम्झनालाई अझ स्पष्ट बनाउन बज्यैहरू र आमाहरूसँग फेरि बसेर तिहारका पुराना दिनबारे कुराकानी गरें । पहिले तिहार कसरी मनाइन्थ्यो, के–के गरिन्थ्यो, को–को सहभागी हुन्थे, के कुराले तिहार आएको अनुभूति हुन्थ्यो भन्नेबारे लामो विमर्श भयो । बिर्सिएका दृश्यहरू एकपछि अर्को गर्दै आँखा अगाडि आउन थाले । कतिपय कुरा त मैले बिर्सिसकेकी रहेछु । उहाँहरूले सम्झाइ दिनुभयो । कतिपय कुरा उहाँहरूले सुनाउनुभयो । जुन मैले बाल्यकालमा देखेकी थिएँ । तर, त्यसको महत्व त्यतिबेला बुझ्न सकेकी थिइनँ । तिहारको सम्झना मेरो व्यक्तिगत बाल्यकालसँगमात्र जोडिएको रहेनछ । यो त धेरै पुस्ताले सँगै बाँचेको एउटा सामूहिक स्मृति समेत रहेछ ।

    तिहार, काग तिहारबाटै फरक उत्साहका साथ सुरु हुन्थ्यो । कागलाई चिउरीको पातमा भात र खानेकुरा राखेर खुवाउने चलन थियो । कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने, पूजा गर्ने र चौबाटोमा लगेर खाना दिने गरिन्थ्यो । पशुपंक्षी, प्रकृति र आफ्नो वरिपरीको जीवनसँग जोडिएका यी संस्कारहरू पर्वका अभिन्न हिस्सा बनेका थिए । तिहार केवल मानिसले रमाइलो गर्ने चाड हो भन्ने लाग्दैनथ्यो । यसले संसारलाई सम्झिन, त्यसको अस्तित्व स्वीकार गर्न र सम्मान गर्न पनि सिकाउँथ्यो ।

    स्मृतिमा सबैभन्दा गहिरोसँग बसेको दृश्य : औंसीको बिहान
    बिहान झिसमिसेमै गाउँका गन्यमान्य व्यक्तिहरू, अध्यक्षहरू तथा घरका ठूला प्रतिनिधिहरूका आँगनमा सोरठी समूह परम्परागत पोसाकमा सजिएर आउँथे । ठूला–साना मादलहरू ल्याएर आँगनमा ठोक्न राखी देवीको सम्झना गरिन्थ्यो । जसलाई मादल फुकाउने भनेर बुझिन्थ्यो । मादलका छालाहरू मिलाउँदै, ताल मिलाउँदै बजाउन थालेपछि एकाएक गाउँ नै ब्युँझिएजस्तो लाग्थ्यो । ड्वाङड्वाङ बजेका ती मादलका आवाजहरू आज पनि मेरा कानमा गुञ्जिरहेका छन् ।

    त्यसमा गाउँको ठूलाबडाप्रति सम्मान, परम्परा, सामूहिकता र साँस्कृतिक पहिचान जोडिएको थियो । आज ती दृश्यहरू सम्झिँदा कुनै सपनाजस्तो लाग्छ । सायद बज्यैहरूका लागि ती सम्झना सपनाजस्तै भइसकेका होलान् । गोवर्धन पूजाको दिनको तयारी, कम रमाइलो हुँदैनथ्यो । खरबारीबाट बावियो, खर ल्याइन्थ्यो । ठूलो बुवा आँगनको छेउ, पिर्कामाथि बसेर बावियाका लामा चुल्ठी बाट्नुहुन्थ्यो । बावियो सर्कसर्क गर्दै उहाँका हातहरू चलिरहेका हुन्थे । हामी साना केटाकेटीहरू भने फूलका थुँगा टिप्न दौडिन्थ्यौं ।  बुकीका फूल, पीपलको पात,आँपको पात र अरू रङ्गीचङ्गी फूलहरू खोजेर ल्याउँथ्यौं । फूलका साना गुच्छा बनाएर ठूलो बुवालाई दिन्थ्यौं । ती गुच्छाहरू तोरणमा मिलाएर झुण्ड्याउनुहुन्थ्यो ।

    घरधुरी कटाउने गरी लामो तोरण बाटिन्थ्यो ।  त्यसलाई सबै मिलेर घरको धुरीमा पुर्याउँथ्यौं । चिउरीको पातमा अक्षता राखेर गाईगोठ जान्थ्यौं । गाईलाई टीका लगाउने, पूजा गर्ने र गोठमा पनि फूलसहितको तोरण झुण्ड्याउने गरिन्थ्यो । घर, गोठ, पशु र प्रकृति सबैलाई समेटेर तिहार मनाइन्थ्यो । ती काममा सहभागी हुन पाउनु नै ठूलो खुसी लाग्थ्यो । ती गतिविधिभित्र कति ठूलो साँस्कृतिक शिक्षा लुकेको रहेछ भन्ने महसुस् हुन्छ । कसैले छुट्टै कक्षा लिएर सिकाएको थिएनन् । न त कुनै पाठ्यपुस्तकमा त्यसको पाठ थियो । तर, काम गर्दै, हेर्दै र सघाउँदै धेरै कुरा सिकिरहेका हुन्थ्यौं । 
    तिहारमा दिदीबहिनीहरू माइतीका दाजुभाइको घरमा टीका लगाउन आउँथे । बज्यैहरूका सम्झनामा त्यी दृश्यहरु जीवित छन् । नयाँ मकै रातभरी भिजाएर बिहान कुट्ने, निफन्ने र त्यसबाट मकैका रोटी बनाउने गरिन्थ्यो रे । सेलरोटी र अन्य परिकारहरू तयार पारिन्थे रे । मखमलीका फूल, ओखर र रक्सी बोकेर दिदीबहिनीहरू माइती पुग्थे रे । दाजुभाइलाई टीका लगाउने, माला पहिर्याउने, मीठा परिकार खुवाउने र आशीर्वाद दिने चलन थियो रे ।

    त्यतिबेला महंगा उपहार हुँदैनथे होला । बजारबाट ल्याइएका झिलिमिली बत्ती पनि हुँदैनथे । तर, दाइभाइप्रतिको माया, सम्मान र आशीर्वादमा कुनै कमी हुँदैनथ्यो । बज्यैहरू सुनाउनुहुन्छ–दिदीबहिनीलाई दक्षिणा दिने चलन थियो । दाजुभाइसँग पैसा नभएको अवस्थामा कतिपयले बाख्रा वा गाईसमेत दक्षिणाका रूपमा दिने गर्थे रे ।  दाजुभाइलाई रोटी र स्थानीय पेय पदार्थले सत्कार गर्थे । टपरीमा खाना खुवाउँथे रे ।

    यी कुरा सुन्दा अहिलेको उपहार संस्कृतिसँग तुलना गर्न मन लाग्छ । आज उपहारको मूल्य, ब्राण्ड र आकर्षक प्याकिङले धेरै ठाउँ ओगटेको छ । उपहारको प्याकिङ खोल्नुअघि नै त्यसको फोटो खिच्ने चलन छ । उहिले आफ्नो घरमा भएको अन्न, पशु वा श्रमसमेत सम्बन्धको सम्मानमा अर्पण गरिन्थ्यो । वस्तुको मूल्यभन्दा त्यसमा मिसिएको भावना ठूलो हुन्थ्यो । अहिले उपहार सानो भयो भने मन सानो भएको त होइन भन्ने शंका लाग्ने जमाना पो आयो नि ।

    तिहारको अर्को रमाइलो पक्ष कौडा खेल्नु थियो । सानादेखि ठूलासम्म एकै ठाउँमा भेला भएर कौडा खेल्थे । ‘चौका पर्यो, छक्का पर्याे’ भन्दै हाँसो र रमाइलो चलिरहन्थ्यो । कतिपय ठाउँमा तास पनि खेलिन्थ्यो । हारजीत हुन्थ्यो । जित्नेको अनुहारमा खुसी, हार्नेको अनुहारमा असन्तुष्टि भए पनि खेल सकिंदा गफ र हाँसो सबैको साझा हुन्थ्यो । कौडा खेल्नेहरूलाई त रात बितेको पत्तै हुँदैनथ्यो । दाउमा चाखे थाप्नेहरु पनि कम्ति हुन्थेनन् ।

    त्यसपछि सुरु हुन्थ्यो देउसी–भैलोको रौनक 
    आजजस्तो साउण्ड सिस्टम, मोबाइल बुफर वा रेडिमेड गीतको व्यवस्था थिएन । आफ्नै स्वर, चुट्की, मादल र भट्याइका भरमा भैलो खेल्थे । समूहमा पालैपालो भट्याउने चलन थियो । ‘रातो माटो, चिप्लो बाटो’ जस्ता स्थानीय भाकाहरू गाउँदै घरघर पुगिन्थ्यो । भट्याउनेको स्वर अलि चर्को, मादलको ताल अलि बेसुरे र पछाडि गाउनेहरूको स्वर एक–अर्कासँग नमिले पनि त्यसमा एउटा छुट्टै मिठास हुन्थ्यो । कसैले ताल बिगार्दा पनि कसैले माइक खोसेर सच्याउनुपर्ने अवस्था थिएन । सबैको सहभागीता नै मुख्य संगीत थियो । भैलो खेल्न जानुअघि ठोकन राखेर देवीको सम्झना गर्दथे । त्यो पूजा हेर्न मानिसहरू जम्मा हुन्थे । आँगनदेखि करेसासम्म मानिसहरूको भीड लाग्थ्यो । युवाहरू, वृद्धवृद्धा, बालबालिका सबै उत्सुकतापूर्वक हेर्न आउँथे । मादल बज्न थाल्थ्यो । भट्याइ सुरु हुन्थ्यो र रात उत्सवमा बदलिन्थ्यो । घरबेटीले दियो बालेर सुपोमा दान सजाएर ल्याउँथे । पानसमा फूल राखिएको हुन्थ्यो, चामलमाथि नोट राखिएका हुन्थे । भैलिनी समूहले दियो, फूल र अक्षता हातमा लिएर घरबेटीलाई आशीर्वाद दिन्थे । ‘यो घर, दरबारजत्रो । यहाँका छोराछोरी डाक्टर, इञ्जिनियर, पाइलट बनून् । मनका धनी बनून् । सुख, शान्ति र समृद्धि छाओस्’ भन्दै मीठामीठा आशीर्वाद भट्याइन्थ्यो । 
    घरबेटीले पानसको दियो ननिभोस् भनेर हातले हावा छेक्दै भित्र पु¥याउँथे ।

    कति फरक थियो त्यो समय । न हामीसँग महंगा पोशाक थिए । न आकर्षक साउण्ड सिस्टम । आफ्नो आवाज र सीपले उत्सव सिर्जना गर्ने आत्मविश्वास थियो । नाँच्ने, गाउने र आशीर्वाद दिने सबैजना एउटै साँस्कृतिक यात्राका सहयात्री थिए ।  कसैले राम्रो नाँच्यो भने सबैले प्रशंसा गर्थे । कसैले बिर्सियो भने अर्कोले सम्झाइदिन्थ्यो । त्यहाँ प्रतिष्पर्धाभन्दा सहकार्य ठूलो हुन्थ्यो । फर्केर हेर्दा ती गतिविधिहरूमा केवल मनोरञ्जनमात्र थिएन । बरु, सामूहिक कला थियो । पुस्तान्तरण थियो र समुदायसँग जोडिने अवसर थियो ।

    अहिले तिहारको भैलो हेर्दा धेरै ठाउँमा स्वरूप बदलिएको देखिन्छ ।  भैलो खेल्न गाउँका घरआँगनभन्दा बजार र पसलहरू रोजिन्छन् ।  कतिपय ठाउँमा साँस्कृतिक कार्यक्रमभन्दा पैसा उठाउने उद्देश्य ठूलो भएको अनुभूति हुन्छ ।  समूहहरू गीत बजाउँछन्, नाच्छन् । आफै ताली बजाउँछन् । आफै हौसला दिन्छन् । कला हेर्नुपर्ने मानिसहरूलाई फुर्सद हुँदैन ।  व्यायापारीहरू आफ्नो व्यापारमा व्यस्त हुन्छन् ।  समूहले प्रस्तुति सकाएर दक्षिणा उठाउने पालो पर्खिन्छन् ।

    भैलोको प्रस्तुति र दक्षिणा संकलनबीचको दूरी यति छोटो भएको छ कि दर्शकले ताली बजाउन नपाउँदै सहयोगको थैली अगाडि आइपुग्छ । पैसा उठाउनु गलत होइन । समूहलाई खर्च चाहिन्छ तर, कला र संस्कृतिको नाममा प्रस्तुत गरिने कुरालाई हेर्ने, सुन्ने र सम्मान गर्ने वातावरण पनि त चाहियो नि होइन र ? खल्लो लाग्ने कुरा यही हो–कला प्रस्तुत गर्नेहरू छन् । कला हेर्ने र त्यसको सम्मान गर्ने फुर्सद कम हुँदै गएको छ ।  भैलो सांस्कृतिक कार्यक्रमजस्तो देखिन्छ । तर, त्यसले बोकेको सांस्कृतिक मर्म कताकता कमजोर हुँदै गएको अनुभूति हुँदैछ ।

    गाउँघरमा पनि बालबालिकाहरू भैलो खेल्न छोड्दै गएका छन् । खेले पनि कतिपय ठाउँमा मोबाइल बुफर र साउण्ड सिस्टममा रेडिमेड गीत बजाएर नाच्ने चलन बढेको छ । नयाँ गीतमा नाँच्नु वा प्रविधि प्रयोग गर्नु नराम्रो होइन ।  प्रविधि त आफैमा दोषी छैन । दोष हाम्रो प्रयोगमा हुन सक्छ ।  आफ्नै गाउँका भाका, मादलको ताल, ठूलो नाँचको लय र पुराना आशीर्वादका शब्दहरू सिक्ने अवसर पाउनुपर्छ नि !

    अहिले त मोबाइलमा गीत खोज्न दुई सेकेण्ड लाग्छ । तर, आफ्नै गाउँको पुरानो भाका सम्झिन दुई घण्टा लाग्न सक्छ । त्यो पनि कसैले सम्झाइदिए मात्र । हामीले प्रविधिमा धेरै कुरा सुरक्षित राख्यौं, तर आफ्नै स्मृतिमा रहेका कुरा सुरक्षित राख्न कति समय निकाल्यौं ? डाँडापारीबाट सुनिने मादलका ढ्याङढ्याङ आवाज दिने बाजेहरू आज धेरैजसो यो संसारमा हुनुहुन्न । उहाँहरूले बजाएका बाजा, भट्याएका भाका र सिकाएका सीपहरू पनि उहाँहरूसँगै बिस्तारै हराउँदै त छैनन्  ? नयाँ पुस्ताले ती कुरा कहाँबाट सिक्ने ? कसले सिकाउने ?

    यहींनेर फेरि बज्यैहरूको आवाज सम्झिन्छु–‘के जमाना आयो, के जमाना आयो !’
    साँझको त्यो कुराकानीबाट सुरु भएको मेरो प्रश्न अहिले अझ स्पष्ट हुँदै गएको छ । उहाँहरूलाई आफ्नो समयको सामूहिकता, आत्मीयता र साँस्कृतिक जीवनको अभाव महसुस भइरहेको रहेछ । मलाई पनि त्यही कुराको अभाव खट्किरहेको रहेछ । उमेर फरक भए पनि हामी दुवै पुस्ताको खल्लोपनको जरो कतै एउटै ठाउँमा जोडिएको रहेछ । यसमा नयाँ पुस्तालाईमात्र दोष दिएर पुग्दैन । उनीहरूले जे देखे, जे सिके र जे अभ्यास गर्ने अवसर पाए, त्यही त निरन्तरता दिने हुन् । हामीले उनीहरूलाई के सिकायौं ? के हस्तान्तरण गर्याैं ? आफ्ना अग्रजहरूबाट सिकेका कुरा कति सुरक्षित राख्यौं ? बालबालिकालाई आफ्नै संस्कृति, गीत, बाजा र परम्परासँग जोड्ने कति अवसर दियौं ? यी प्रश्नहरू हामी आफैतिर फर्काउनुपर्छ । 
    हामीलाई पुरानो तिहारको मादल सम्झना छ । तर, त्यो मादल बजाउन जान्ने हातहरूलाई कति समय दियौं ? पुरानो भैलोको भाका मन पर्छ, तर त्यो भाका सिक्न कति पटक बज्यैहरूका छेउमा बस्यौं ? संस्कृति हरायो भनेर चिन्ता गर्न हामीलाई सजिलो छ । तर, त्यसलाई जोगाउन आफ्नो समय, श्रम र रुची दिनचाहिँ कति तयार छौं ? सायद यही प्रश्नको उत्तर खोज्नु अहिलेको आवश्यकता हो ।

    संस्कृति जोगाउनु भनेको पुरानै कुरामा अड्किएर बस्नु होइन । आधुनिकता र प्रविधिलाई अस्वीकार गर्नु पनि होइन । नयाँ पुस्ताको सिर्जनशीलतालाई ठाउँ दिनुपर्छ । तर, नयाँ कुरा थप्दै गर्दा पुरानो पुस्ताले सुम्पिएको ज्ञान, सीप, मूल्य र आत्मीयताको धागो भने चुँडाउनु हुँदैन ।

    हामीले हाम्रा बाजे बज्यैहरू र अग्रजहरूसँग बसेर उहाँहरूका कथा सुन्नुपर्छ । उहाँहरूले जानेका भाका र बाजा सिक्नुपर्छ ।  खरको तोरण कसरी बाटिन्थ्यो, फूलका गुच्छा कसरी बनाइन्थ्यो, भैलो कसरी भट्याइन्थ्यो, पानसको दीयो कसरी घरभित्र पुर्याइन्थ्यो भन्ने कुरा नयाँ पुस्तालाई पनि देखाउनुपर्छ ।  नव पुस्तालाई नाँच सिकाउँदा त्यसको कथा सुनाउनुपर्छ । गीत सिकाउँदा त्यसले बोकेको इतिहास र सामाजिक सम्बन्ध बुझाउनुपर्छ । 
    सायद संस्कृति जोगाउने सबैभन्दा सरल तरिका यही हो । अघिल्लो पुस्तासँग संवाद गर्ने, उनीहरूबाट सिक्ने र आफूले जानेको कुरा पछिल्लो पुस्तालाई सिकाउने । नत्र कुनै दिन हामी पनि आफ्ना नातिनातिनालाई ‘हाम्रो जमानामा यस्तो हुन्थ्यो’ भनेर सुनाउनेछौं । उनीहरूले चाहिँ ‘त्यो बेला भिडियो खिच्नुभएको छैन ?’ भनेर सोध्नेछन् ।  त्यसपछि सम्झना सुनाउने हामीसँग कथा त होला, तर त्यसलाई अनुभव गराउने अभ्यास नहुन सक्छ । 
    फेरि त्यही औंशीको साँझ सम्झिन्छु । बाहिर झिलिमिली बत्ती बलिरहेका थिए ।  दुईजना बजैहरु आफ्नै पुराना दिन सम्झेर कुरा गर्दै हुनुहुन्थ्यो ।  उहाँहरूको कुरा सुन्दै आफ्नै बाल्यकालका तिहारहरू खोजिरहेकी थिएँ । त्यतिबेला महसुस भयो, मलाई तिहारमा कुनै वस्तुको अभाव खट्किएको रहेनछ । बरु ती वस्तुसँग जोडिएका मान्छे, आवाज, सीप, सम्बन्ध र सामूहिक अनुभूतिको अभाव खट्किएको रहेछ । घरको आँगन उज्यालो पार्न बजारबाट बत्ती ल्याउन सकिन्छ । फूल किन्न सकिन्छ, मिठाई र उपहारले थाली भरिभराउ बनाउन सकिन्छ ।  फोटो खिचेर सम्झना सुरक्षित राख्न सकिन्छ तर, पुस्तौंदेखि बग्दै आएको आत्मीयताको नदी बजारबाट किनेर ल्याउन सकिँदैन ।  त्यसका लागि त मानिसबीचको भेट, संवाद, सहभागिता र अभ्यास चाहिन्छ ।

    घरका आँगनहरू झिलिमिली हुँदा पनि मनका आँगनहरू रित्तो लागेका रहेछन् ।
    मलाई अब तिहार फेरि पहिलेजस्तै हुनुपर्छ भन्ने लाग्दैन । समयलाई पछाडि फर्काउन पनि सकिँदैन । न त पुरानो मादलको तालसँग नयाँ गीतलाई प्रतिस्पर्धा गराएर जिताउनुपर्ने हो । नयाँ पुस्ताले नयाँ गीतमा नाँच्दा पुरानो भाका सम्झियोस् । मोबाइलमा भिडियो खिच्दा बज्यैको कथा पनि रेकर्ड गरोस् । साउण्ड सिस्टम बज्दा मादलको आवाज हराउन नदियोस् । परिवर्तनलाई रोक्ने होइन, परिवर्तनभित्र आफ्नो मौलिकता जोगाउने हो । 
    भोलिका बालबालिकाले तिहारमा झिलिमिली बत्ती मात्र नदेखून् ।  उनीहरूले ठूलो नाँचको मादल सुनून्, खरको तोरणमा फूल उनेको देखून्, भैलोका आशीर्वाद सिकून्, बज्यै कथा सुनून् र आफ्नै गाउँको संस्कृतिमा आफूलाई भेट्न सकून् । तिहार मनाउनु एउटा परम्परा हो । तर, त्यसको आत्मा पुस्तौंसम्म जीवित राख्नु हाम्रो साझा जिम्मेवारी हो । घर उज्यालो पार्ने बत्ती त हामीले बाल्यौं । अब, मन र संस्कृतिका आँगन उज्यालो राख्ने जिम्मेवारी हामीले नै लिनुपर्नेछ ।