२०८३, मंसिर ४ गते

Nov 20 2026 | २०८३, मंसिर ४ गते

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी सुरु

बिहिवार , मंसिर ३, २०८३

  • 514
    Shares
  • 514
    Shares
  • बुटवल, ३ मंसिर । महिलाले सार्वजनिक जीवनमा पु¥याएको योगदान, संघर्ष र ऐतिहासिक भूमिकालाई तस्बिरमार्फत उजागर गर्ने उद्देश्यले रुपन्देहीको बुटवलमा ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी सुरु भएको छ ।

    नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा बिहीबारदेखि बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा प्रदर्शनी सुरु भएको हो । मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा महिलाको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक जीवनसँग सम्बन्धित ऐतिहासिक तस्बिरहरू राखिएका छन् ।

    प्रदर्शनीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलले महिला सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । उहाँले महिलालाई सीप र रोजगारीसँग जोड्ने कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

    महिलाको क्षेत्रमा स्थानीय तहले काम गरिरहे पनि अन्य तहका सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उहाँको भनाइ थियो । महिला सशक्तीकरणका लागि सबै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

    त्यस्तै राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेश्वरी चौधरी कुर्मीले महिलाहरू अहिलेको अवस्थामा आइपुग्न लामो संघर्ष र अनेकौं चुनौती सामना गर्नुपरेको बताउनुभयो । महिलाले सामाजिक तथा सार्वजनिक जीवनमा आफ्नो स्थान स्थापित गर्न विगतमा गरेका संघर्ष र योगदानलाई बिर्सन नहुने उहाँको भनाइ थियो ।

    फोटो सर्कलअन्तर्गतको नेपाल पिक्चर लाइब्रेरीकी आउटरीच कोअर्डिनेटर सम्झना नेपालीले प्रदर्शनीलाई चरणबद्ध रूपमा देशका विभिन्न स्थानमा सञ्चालन गरिएको बताउनुभयो । महिलाको सार्वजनिक जीवन र योगदानका कथालाई देशभरका समुदायसम्म पुर्‍याउने उद्देश्यले विभिन्न चरणमा फोटो प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ थियो ।
    प्रदर्शनीबारे जानकारी दिँदै स्थानीय सहजकर्ता वीर फाउण्डेशन नेपालकी अध्यक्ष विजया खत्रीले महिलाको सार्वजनिक जीवन, संघर्ष र योगदानलाई तस्बिरमार्फत अभिलेखीकरण गर्दै समाजसामु प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

    प्रदर्शनीको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक क्षेत्रमा सक्रिय महिलाहरूले आफ्ना अनुभवसमेत सुनाएका थिए । उनीहरूले सार्वजनिक जीवनमा काम गर्दाका चुनौती, संघर्ष र अवसरका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।

    प्रदर्शनीले नेपाली समाजमा महिलाको भूमिका, उनीहरूले गरेका संघर्ष र सार्वजनिक क्षेत्रमा पु¥याएको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ । महिलाको इतिहासलाई लिखित दस्तावेजमा मात्र सीमित नराखी तस्बिरका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासका रूपमा यसलाई लिइएको छ । प्रदर्शनी सबैका लागि निःशुल्क अवलोकन गर्न खुला गरिएको आयोजकले जनाएको छ ।

    देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदर्शनीको तेस्रो चरणअन्तर्गत बुटवल र पोखरामा कार्यक्रम आयोजना गरिएको हो । बुटवलपछि मंसिर १० देखि १२ गतेसम्म पोखरामा प्रदर्शनी सञ्चालन हुनेछ ।