२०८३, मंसिर ५ गते

Nov 21 2026 | २०८३, मंसिर ५ गते

प्रधानमन्त्री साहको भारत भ्रमणमा आर्थिक कुटनीतिलाई प्राथमिकता

शुक्रवार , मंसिर ४, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिनुभयो ।

    उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुँदैछ । सचिव राईकाअनुसार व्यवसायीबीचको छलफलले दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

    त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । साथै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । 

    भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

    उहाँले भन्नुभयो, ‘भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा प्रधानमन्त्री बालेन्द्र साह सहभागी हुनुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि उहाँसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ ।

    भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरममार्फत दुवै देशका व्यवसायीबीच सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुनेछ । यसले व्यापारिक सम्बन्ध विस्तार तथा ठोस आर्थिक उपलब्धि हासिल गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आसन्न भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

    भ्रमणसम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिनेछ । भ्रमणलाई सफल बनाउन सञ्चारमाध्यमबाट सहयोग, सुझाव तथा सकारात्मक समाचार संप्रेषण गर्ने सञ्चारकर्मीहरूलाई परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।’

    सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री साहको भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन् ।