शनिवार , मंसिर ५, २०८३
भैरहवा, ५ मंसिर । विश्व मधुमेह दिवस २०२६ को सन्दर्भमा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकदिने निःशुल्क डाइबेटिक आँखा जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ ।
गैडहवा गाउँपालिकाको सहकार्य तथा नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखा र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवाको आयोजनामा शुक्रबार गैडहवा–६ स्थित सूर्यपुरा बजारको आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ११२ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २२ जनामा मधुमेहको समस्या देखिएको छ । त्यस्तै मधुमेहका कारण आँखामा असर परेका तीनजनालाई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै परीक्षण गरिएकामध्ये २८ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको छ । मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने सबै बिरामीका लागि निःशुल्क शल्यक्रिया (अपरेशन) को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरकी बाह्य कार्यक्रम निर्देशक सहप्राध्यापक डा. विनिता भट्टराईको अध्यक्षता तथा गैडहवा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारुको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
अमर गौतमको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ तथा श्री रण अम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणा, अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेल, नेपाल नेत्र ज्योति संघ रुपन्देहीका सचिव गणेश बहादुर क्षेत्री, अस्पतालका प्रबन्ध व्यवस्थापक प्रकाश रायमाझी, नेत्र विशेषज्ञ डा. सुजन ओझा, जनस्वास्थ्य निरीक्षक अनिल कुमार वि.क., हेल्थ पोस्ट इन्चार्ज मीना पन्थीलगायतको आतिथ्यता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij