
बुधवार , जेठ १२, २०७८
भैरहवा, १२ जेठ ।
अर्घाखाँची सिमेन्ट प्रा.लि. द्वारा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । २०७७ माघ २२ गते शिलान्यास भएको भवन निर्माणसम्पन्न गरेर असार मसान्तसम्म गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहे पनि ११० दिनमै हस्तान्तरण गर्न सफल भएको अर्घाखाँची सिमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताए । उनले अप्ठ्यारो समयमा पनि दिनरात खटेर काम गर्ने प्रा.लि.का सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरे । भवनको सदुपयोग छिटो होस् र बढी भन्दा बढी नागरिक लाभान्वित हुन सकुन् भन्ने चाहनाले ११० दिनमै निर्माण सम्पन्न गरेर उद्घाटन तथा हस्तान्तरण गरिएको अग्रवालले बताए ।
७० लाखको लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन राम्ररी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । ‘दोस्रो तल्लाको निर्माण पनि सुरु गर्ने र आवश्यकता अनुसार तीनतल्ले बनाउने सोच छ, धेरै भन्दा धेरै नागरिक स्वास्थ्य चौकीबाट लाभान्वित हुनुपर्छ, ’अग्रवालले भने ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ स्थित मैनहियामा निर्मित भवनको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ तथा अर्घाखाँची सिमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले कोरोना महामारी नियन्त्रणको लागि सीमा नाकालाई अझ व्यवस्थित बनाउनुपर्ने बताए । उनले निषेधाज्ञालाई पूर्ण पालना गर्न आवश्यक रहेको बताए । ‘अघिल्लो चरणमा जे जति व्यवस्थापन भयो, त्यो राम्रै थियो, तर बीचमा वेवास्ता गरेकै परिणामले एक्कासी भयावह स्थिति भयो, जसले कोभिड संक्रमणको दर बढ्यो, ’मन्त्री श्रेष्ठले भने । निषेधाज्ञाले निश्चय नै संक्रमण कम गरेको उनको भनाइ थियो ।
सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । अब बन्ने आइसोलेशन सेन्टर एचडीयू स्तरको हुनुपर्ने उनले बताए । गलत औषधीको प्रयोगले ज्यान जोखिममा पर्ने भएकोले कोरोना संक्रमित बिरामी निरन्तर चिकित्सकको समन्वय र सम्पर्कमा हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । घरघरमा अक्सिजन दिने कुरा र अन्तिम अवस्थामा अस्पताल जाँदा बिरामीको ज्यान जोखिममा परेको उनले बताए । डाक्टरको व्यवस्था बिना आइसोलेशन सेन्टर सञ्चालन खासै प्रभावकारी हुन नसक्ने उनले बताए ।
‘अहिलेको आवश्यकता भनेको एचडीयू स्तरको आइसोलेशन हो, एउटा पालिकालाई ग्राहो छ भने दुई/तीन वटा पालिका मिलेर एचडीयू स्तरको कोभिड अस्पताल बनाउनुपर्छ, ’उनले भने । सरकारले अक्सिजन प्लान्ट निर्माणमा प्राथमिकता दिएको उनले बताए । प्रदेश सरकारले पीसीआर परीक्षणको मुल्य १ हजार कायम गरेको उनले बताए । स्थानीय तहले २५ लाखदेखि १ करोडसम्मको कोभिड कोष बनाउन सके सानोतिनो कुरामा अल्झिनु नपर्ने उनको भनाइ थियो ।
त्यस्तै लुम्बिनी प्रदेश सांसद तुल्सी प्रसाद चौधरीले जटिल समयमा स्वास्थ्य चौकीको निर्माणसम्पन्न भएको बताए । उनले समाजको लागि काम गर्ने मान्छे सीमित भएको र अर्घाखाँची सिमेन्ट प्रा.लि.ले उदाहरणीय कार्य गरेको चर्चा गरे । उनले प्रा.लि. ले यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिदै जाने विश्वास व्यक्त गरे ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले असारमा हस्तान्तरण गर्ने भनेको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले जेठमै स्वास्थ्य चौकी भवन निर्माणसम्पन्न गरेर हस्तान्तरण गरेको बताए । प्रा.लि.ले सियारी गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको उनले बताए । अध्यक्ष थारुले कोरोना संक्रमित बिरामीको ज्यान बचाउने कुरा नै अहिले महत्वपूर्ण कार्य रहेकोमा जोड दिए । उनले हाल स्वास्थ्य चौकी भवनलाई १५ बेडको आइसोलेशन सेन्टर बनाइने बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्र अर्घाखाँची सिमेन्ट प्रा.लि. ले राम्रो काम गरेको बताए । सरिता चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij