२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न

शनिवार , मंसिर १२, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • भैरहवा, १२ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर १७ देखि २८ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा सञ्चालन हुने १० औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको हो ।

    संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले महोत्सवस्थलमा स्टल निर्माण, सचिवालय व्यवस्थापन, सुरक्षा प्रबन्धलगायतका काम सम्पन्न भइसकेको बताउनुभयो । अब मञ्च निर्माणको काम पनि अन्तिम चरणमा पुगेको र ९० प्रतिशत तयारीका काम सकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी छिटफुट काम एक–दुई दिनभित्र पूरा हुनेछन् ।

    महोत्सवमा कुल २५० वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । शुक्रबारसम्म २४० वटा स्टल बुकिङ भइसकेका छन् । बाँकी १० वटा स्टलको बुकिङ पनि छिट्टै पूरा हुने उहाँले बताउनुभयो । महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ । अध्यक्ष आचार्यले नयाँ उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर यसपटकको महोत्सव आयोजना गरिएको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले लुम्बिनी राष्ट्रिय महोत्सव रुपन्देहीको गौरवका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । २०६१ सालदेखि भैरहवामा महोत्सव सुरु भएको उहाँले  बताउनुभयो ।

    मुलुकभित्र उत्पादन भएका वस्तुसँगै स्थानीय कला र संस्कृतिको प्रवद्र्धनमा महोत्सवले योगदान गर्दै आएको उहाँको भनाइ थियो । यसपटक पनि नेपालका तराईदेखि हिमालसम्मका उत्पादन यहाँ प्रदर्शन तथा बिक्रीका लागि राखिने उहाँले बताउनुभयो ।
    महोत्सवमा मुस्ताङको स्याउदेखि दोलखाको किवीसम्म प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

    महोत्सव अवधिभर विभिन्न विषयमा छलफल तथा गोष्ठी आयोजना गरिनुका साथै रचनात्मक र मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    मेला प्रचारप्रसार समितिका संयोजक एवं संघका कार्यसमिति सदस्य कमल ज्ञवालीले स्वदेशी उत्पादनको प्रवद्र्धन र व्यवसायीकरणको विकासमा महोत्सव कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँले महोत्सव सफल बनाउनु रुपन्देहीबासी सबैको साझा दायित्व भएको उल्लेख गर्दै साथ र सहयोगका लागि आग्रह गर्नुभयो ।

    संघका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवालले महोत्सव सबैको साझा कार्यक्रम भएको बताउँदै यसले साना तथा ठूला उद्योगका उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।