images

शुक्रवार, बैशाख १४ गते २०८१

वर्षामा पनि रोकिएन निःशुल्क खाना वितरण अभियान

वर्षामा पनि रोकिएन निःशुल्क खाना वितरण अभियान

images
images
images
शनिवार, जेठ १५ २०७८
शनिवार, जेठ १५ २०७८
  • वर्षामा पनि रोकिएन निःशुल्क खाना वितरण अभियान

    भैरहवा, १५ जेठ । 
    दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जेठ २० गतेसम्मको लागि थपिएको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् । कोरोना संक्रमित बिरामी उपचारका लागि अस्पतालमा छन् भने कतिपय संक्रमित होम आइसोलेशनमै छन् । त्यस्तै कतिपय संक्रमित गम्भिर अवस्थामा अस्पताल पुग्ने र उपचारकै क्रममा ज्यान गुमाइरहेका छन् । निषेधाज्ञाको सुरुवाती चरणमा कोरोजा संक्रमित विरामीले अस्पताल भरिभराउ हुँदा बेड नपाएर बिरामीहरुले ज्यान गुमाएका थिए । त्यस्तै माग अनुसारको अक्सिजन उत्पादन नहुँदा र घरमै अक्सिजन सिलिण्डर ‘स्टक’ गरेर राख्दा अभाव अक्सिजनको अभावमा बिरामीको मृत्यु भयो । त्यस्तै विभिन्न अस्पताल धाउँदाधाउँदै पनि कतिपय बिरामीले एम्बलेन्समै ज्यान गुमाउनुपर्यो । यो आफैमा दुःखद घटना हो । रुपन्देहीमा कोरोना संक्रमित भएर निको हुनेको संख्या पनि उत्तिकै छ । रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट निको हुने संख्या २२ हजार ३ सय ९२ पुगेको छ । त्यस्तै जिल्लामा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५८ पुगेको छ । हालसम्म जिल्लामा ४१५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    निषेधाज्ञाका कारण अस्पताल बाहिर सञ्चालित होटल तथा रेष्टुरेण्ट बन्द छन् । जसले गर्दा बिरामी र बिरामी कुरुवालाई खाना खान समस्या परिरहेको छ । बिरामी भएपछि परिवारमा चिन्ता थपिनु र सहज रुपमा खाना नपाउनुले समस्या थपिएको थियो । तर त्यो समस्या भने समाधान भएको छ । यही समस्यालाई मध्यनजर गर्दै यस क्षेत्रका विभिन्न संघ–संस्थाले बिरामी तथा बिरामी कुरुवाहरुका लागि निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी, मारवाडी सेवा संघ सिद्धार्थनगर, जेसीआई सिद्धार्थ, नेपाल, जनमुक्ति पार्टी लगायतले खाना वितरण गरिरहेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बिरामी तथा बिरामी कुरुवाहरुको लागि तातो पानी, ज्वानो पानी, चिया, बेसार पानी, दालको झोल निःशुल्क वितरण गरिरहेको छ । 

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), जेसीआई सिद्धार्थले युसीएमएस र सिद्धार्थनगर नगरपालिकाद्वारा सिद्धार्थ बसपार्कमा सञ्चालित आइसोलेशन सेन्टर, मारवाडी सेवा संघ, जनमुक्ति पार्टी र नेकपा (माओवादी केन्द्र)ले भैरहवास्थित भीम अस्पतालमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । माओवादी केन्द्र सिद्धार्थनगर, नगर कमिटीले मृत्यु भएका विपन्न परिवारका कोरोना संक्रमितको निःशुल्क शव व्यवस्थापन समेत गर्दै आइरहेको पार्टीका नेता ध्रुव लाम्गादेले बताए ।

    देशभर अधिकाशं स्थानमा लगातार वर्षा भइरहेको छ । बिहीबारदेखि सुरु भएको वर्षा रोकिएको छैन् । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण नेपालमा वर्षा भइरहेको छ । वर्षाका कराण कतिपय स्थान जलमग्न भएका छन् । तर खाना वितरण अभियान सञ्चालन गरेका यस क्षेत्रका क्रियाशिल संघ–संस्थाहरुले शुक्रबार पनि लगातारको झरीमा पनि यो अभियान रोकेका छैन्, बरु सक्रियताका साथ बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाउनमै व्यस्त छन् ।

    जेठ ६ गते खाना वितरण सुरु गरेको जेसीआई सिद्धार्थ नेपालले नवौं दिन शुक्रबारसम्म १ हजार ५ सय बढीलाई बिरामी तथा बिरामी कुरुवारुलाई निःशुल्क खाना खुवाइएको संस्थाका वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘कमल जि.सी.को संयोजकत्वमा निरन्तर खाना वितरण गरिरहेका छौं, वर्षा भए पनि खाना त खानैपर्यो, वर्षाका कारणले कार्यक्रम रोक्नु भएन, ’ज्ञवालीले भने । 

    त्यस्तै वैशाख २७ गतेदेखि खाना वितरण कार्यक्रम सुरु गरेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले पनि वर्षाका बाबजुद कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबारसम्म ५ हजार बढीलाई खाना वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए । ‘पानी परिरहेको छ तर हामी पानीमा भिजेर भए पनि बिरामी र बिरामी कुरुवाहरुलाई खाना वितरण गरिरहेका छौं, वर्षाका कारणले घरमै बस्यौं भने दैनिक खाना खाइरहेका बिरामी तथा बिरामी कुरुवाहरुलाई समस्या हुन सक्छ, ’गुप्ताले भने । 

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का इलेक्ट प्रेसिडेन्ट गोविन्द प्रसाद गिरीले क्लबले निरन्तर युसीएमएसमा उपचाररत बिरामी तथा बिरामीका कुरुवासंगै भैरहवास्थित मिलनचोकमा पनि निःशुल्क खाना वितरण गरिएको बताए । सुरुवाती चरणमा युसीएमएसमा मात्र खाना खुवाइएकोमा अहिले भने मिलनचोकमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क खाना, पानी तथा मास्क वितरण भइरहेको गिरीले जानकारी दिए । ‘पानी परिरहेको छ तर पनि हाम्रो निःशुल्क खाना अभियानमा खानाको लागि नागरिक भिजेर बस्नुभएको छ, हामी पनि उहाँहरुको निरन्तर सेवामा हुनेछौं, ’गिरीले भने । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी अफ्ठयारोमा परेका नागरिकको सेवामा समर्पित रहेको उनको भनाइ छ ।

    त्यस्तै मारवाडी सेवा संघ सिद्धार्थनगर, भैरहवाले जेठ ४ गतेदेखि खाना वितरण कार्यक्रम सुरु गरेको छ । शुक्रबारसम्म १ हजार ३ सय बढीलाई खाना वितरण गरिएको संघले जनाएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको समन्वयमा भीम अस्पतालमा निःशुल्क खाना वितरण कार्यक्रम निरन्तर सञ्चालन भइरहेको मारवाडी युवा मंच भैरहवाका अध्यक्ष मनोज अग्रवालले बताए । घाम होस् वा पानी, खाना खुवाउने अभियान निरन्तर जारी छ, ’उनले भने । 

    त्यसै गरी द आर्ट अफ लिभिङ भैरहवा, लुम्बिनीले भीम अस्पतालमा बिरामी तथा बिरामी कुरुवाहरुलाई पाँच दिन निःशुल्क खाना वितरण गरेको छ । पाँच दिनसम्म ६२५ जनालाई खाना वितरण गरिएको द आर्ट अफ लिभिङ रुपन्देहीका संयोजक दिपेन्द्र प्रधानले जानकारी दिए ।IMG-20210522-WA0017.jpg

    माओवादी केन्द्रले शुक्रबारसम्म बिरामी तथा बिरामी कुरुवा गरी २ हजार ८ सय बढीलाई तातो पानी, ज्वानो पानी, चिया, बेसार पानी, दालको झोल वितरण गरेको छ । माओवादी केन्द्र सिद्धार्थनगर कमिटी सदस्य तथा विद्यार्थी सह–इञ्चार्ज तुल्सी प्रसाद न्यौपाने (टी.पी.)ले वर्षामा पनि पार्टीले सञ्चालन गरेको अभियान निरन्तर जारी रहेको बताए । ‘वर्षा हुनु स्वभाविकै हो, सधै घाम लाग्दैन, तर वर्षाका कारण अभियान रोक्नु त भएन नी, त्यसले बिरामी र बिरामी कुरुवाको सेवामा निरन्तर लागिपरेका छौं, ’न्यौपानेले भने ।FB_IMG_1622253340374.jpg

    त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको अभियान आउँदो एक हप्तासम्म जारी रहने राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उपाध्यक्ष रेखा प्रसाद चौधरीले जानकारी दिए । 

    वर्षामा पनि निःशुल्क खाना वितरण कार्यलाई निरन्तरता दिने कार्य महत्वपूर्ण रहेको युवा समाजसेवी प्रख्यात बन्जाडे बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij