२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध 

शनिवार , जेठ १५, २०७८

बुटवल, १५ जेठ ।

गत मंगलवारदेखि परेको अविरल वर्षा अझ केही दिन रहने मौसम विभागले जनाएको छ । बंगालको खाडीबाट उत्पन्न भएको ‘यास’ नामक चक्रवातको प्रभावले केही दिन यता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । आज पनि बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रही धेरै स्थानहरूमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोला नालाहरुमा पानीको सतह बढ्नुका साथै बाढी समेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा समेत बढेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शनिबार प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भीषण वर्षाको सम्भावना रहेको समेत जनाएको  छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको पनि जनाएको छ । 

हाल देशमा चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभाव बढेको जनाउदै महाशाखाले भोली जेठ १६ गते (आइतबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन समेत आग्रह गरेको छ । त्यस्तै आइतवार राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ ।

त्यस्तै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १÷२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, बागमती प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी/हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।