२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानूनी र असंवैधानिक : जसपा नेपाल

बिहिवार , भाद्र २५, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौ २४ गते लुम्बिनी प्रदेश सभा सचिवालयबाट जारी सूचना पत्र–४ मार्फत प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    उक्त निर्णय किर्ते र नक्कली कागजातलाई आधार बनाएर गरिएको गैरकानूनी, असंवैधानिक र संसदीय अभ्यासको मर्यादाविपरीत कार्य भएको भन्दै जसपा नेपालले उक्त निर्णयको भ्रत्सना गर्दै तत्काल सच्याउन लुम्बिनी प्रदेश सभा सचिवालयसमक्ष माग गरेको छ ।

    पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै जसपा नेपालले २०८३ भदौ १ गते लुम्बिनी प्रदेश सभा संसदीय दललाई मुख्यमन्त्री चेतनाराण आचार्यले लिनुहुने विश्वास मतको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको बताउनुभयो । ‘उक्त ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, आदेश कुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा बेल्बासे (के.सी.)लाई पार्टीले स्पष्टीकरण सोधी, प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि भदौ १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

    पार्टीको नाममा सह–महासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई आधार बनाइएको र उक्त पत्रमा प्रयोग भएको लेटरप्याड तथा छापसमेत नक्कली रहेको पार्टीको ठहर रहेको महासचिव डा.झाले बताउनुभयो । ‘अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा निजको नामबाट प्रस्तुत पत्रलाई जसपा नेपालको केन्द्रीय समितिको निर्णयका रुपमा स्वीकार गरी निर्णय गर्नु आपत्तिजनक, गैरकानूनी र चुनौतीयोग्य विषय हो, ’विज्ञप्तीमा भनिएको छ ।

    सत्ता जोगाउने राजनीतिक स्वार्थका लागि किर्ते कागजातको प्रयोग, गैरकानूनी प्रक्रिया र राज्यका संवैधानिक तथा संसदीय निकायको दुरुपयोग हुनु लोकतान्त्रिक व्यवस्था, विधिको शासन र स्वच्छ राजनीतिक प्रतिष्र्पामाथिको गम्भीर प्रहार भएको महासचिव डा. झाले बताउनुभयो । यस कार्यमा संलग्न जो–कोही भए पनि उनीहरुलाई कारवाहीको दायरा ल्याउनुपर्ने उहाँले माग गर्नुभयो ।

    जसपा नेपाल लुम्बिनी प्रदेश सभा सचिवालयको उक्त निर्णय तत्काल सच्याउन, घटनाको निष्पक्ष छानबीन गर्न तथा किर्ते कागजात तयार गर्ने, प्रयोग गर्ने र त्यसका आधारमा निर्णय प्रक्रियामा संलग्न हुने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन विज्ञप्तीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । यस विषयमा निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउँदै उक्त गैरकानूनी निर्णयकाविरुद्ध आवश्यक न्यायीक तथा कानूनी उपचारका लागि प्रक्रियाहरु अवलम्बन गर्ने जसपा नेपालले जनाएको छ ।