२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

पश्चिम नवलपरासीका आइसोलेशन सेन्टरहरुमा सामाजिक संघ-संस्थाको सहयोग बढ्दो ।

मंगलवार , जेठ १८, २०७८

जेठ १८, नवलपरासी ।

पश्चिम नवलपरासी जिल्लाका पालिकाहरुले निर्माण गरेको कोरोना अस्थायी अस्पताल (आइसोलेशन सेन्टरं)हरुमा पछिल्लो समय विभिन्न संघ-संस्थाहरुले स्वास्थ्य सुरक्षा सामाग्री तथा उपकरण सहयोग गरेर सामाजिक काममा अग्रसरता देखाएका छन् ।

आइसीयु अभावमा जटिल किसिमका कोभिड संक्रमित विरामीहरुलाई जिल्ला बाहिरका अस्पतालमा लानुपर्ने बाध्यता भएसङ्गै जिल्लाको सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले उच्च गतिको अक्सिजन सेवा सहित कोराना संक्रमितको उपचार सुरु गरिसकेका छन्  भने अन्य पालिकाहरुले समेत अक्सिजन सेवा सहितको आइसोलेसन सेन्टर निर्माण गरेका छन् ।

आइसोलेशनका लागि आवश्यक मेडिकल उपकरण र स्वास्थ्य सुरक्षाका सामाग्री विभिन्न उद्योग तथा संघ-संस्था मार्फत सहयोग भएससङ्गै जिल्लाभित्रै मिनि एचडीयु सहितको उपचार सुबिधा उपलब्ध भएको छ । जसले गर्दा कोरोना संक्रमितको उपचारमा थप सहज भएको छ ।

सुनवल नगरपालिकाको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले मात्रै १ करोड ३० लाख रुपैयाँ भन्दा बढि आर्थिक तथा मेडिकल उपकरण सामाग्री सहयोग गरेका छन् ।

जिल्ला भित्रै कोरोना संक्रमितको लागि उच्च स्तरीय सेवा सञ्चालन गरि उपचारमा थप सहयोग गरेको भन्दै मङ्गलबार सुनवल बजार क्षेत्रका वित्तीय संस्थाहरुले पनि सुनवल नगरपालिकाको आइसोलेसेन्टरमा स्वास्थ्य सामाग्री सहयोग गरेको सिटिजन बैंकका शाखा प्रबन्धक कृष्ण क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार वित्तीय सस्थाहरुले आइसोलेशनमा १५ सिलिन्डर अक्सिजन रिफिल गर्ने सहित २२ थान पिपिई, ५० थान फेश शिल्ड, १ हजार थान मास्क, ४ प्याकेट पञ्जा र १० लिटर सेनिटाइजर उपलब्ध गराएका हुन् ।

सो सामाग्री सहयोग सिटिजन बैंकका प्रबन्धक कृष्ण क्षेत्री, गरिमा विकास बैंकका प्रबन्धक लेखनाथ भट्टराई, जनरल इन्स्योरेन्सका प्रवन्धक नारायण न्यौपाने, मेगा बैंकका प्रवन्धक कृष्ण भण्डारी, नबिल बैंकका प्रबन्धक हुमकाम्त न्यौपाने, एनसीसी बैंकका प्रबन्धक सुर्य शेरचन, नेको इन्स्योरेन्सका प्रबन्धक मञ्जु रेग्मी, एनआइसी एसिया बैंकका प्रबन्धक सञ्जय ज्ञवाली, एनएमबि बैंकका प्रबन्धक टिका गौतम, सयपत्री बचत तथा ऋण सहकारीका प्रबन्धक टिकाराम तिमिल्सिना, शिखर इन्स्योरेन्सका प्रबन्धक भिम पौडेल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रबन्धक भवानी ढकाल र सिद्धार्थ इन्स्योरेन्सका प्रबन्धक जयराम बस्यालले सो सामाग्री खरिदका लागि व्यक्तिगत सहयोग गरेका हुन् ।

कोरोना महामारीको सुरुवात भए लगत्तै अक्सिजन सेवा सहितको १९ शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको सुनवल नगरपालिकाले अहिले मिनि एचडीयु सेवा सहितको १० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

कोरोनाको दोस्रो भेरिएन्ट सुरुभए यता कोरोना महामारीका कारण देशभरको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुर्याइरहेको छ । उच्चस्तरीय उपचार सुविधाका साथै स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा धेरै जनाले अकालमा मृत्युवरण गर्नुपरिरहेको अवस्थामा नवलपरासी जिल्लामा संघसंस्थाहरुले गरेको सहयोगलाई धेरैले प्रशंसा गरिरहेका छन् ।