२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मान्छेपिच्छेका आनिबानीहरु !

आइतवार , भाद्र ७, २०७७

कति बानीहरू यस्ता हुन्छन्, जसकाबारे मान्छे आफै अनविज्ञ हुन्छ । कुनै पनि मान्छेले साधारणतया आफ्ना बानीहरूकाबारे केलाएर हेर्ने काम गरेको हुँदैन ।

परिभाषाको कुरा गर्ने हो भने नियमित व्यवहारमा दोहोरिएर भइरहने र नजानिदो किसिमले पनि देखापर्ने कुरालाई बानी भन्छन् । कहिलेकाहीं यो अनिवार्य भइसकेको हुन्छ । बानी भनेको अचम्मको कुरा हुने गर्छ  । यो कसरी लाग्छ, किन लाग्छ भन्ने कुराको कुनै ठोस कारण पनि हुँदैन । तर, मान्छेलाई जीवनका हरेक प्रहरहरूमा केही न केही बानीहरू लागिरहन्छन । अनि, लागेपछि ती बानीहरूले मान्छेलाई सितिमिति छोड्दैनन् । अदृश्य र अस्पष्ट ती बानीहरू कुनै अभिन्न मित्रझैं मान्छेको साथमा सधै रहिरहन्छन । कुनै बानी मान्छेले जन्मदै वंशाणुगत रूपमा लिएर जन्मेको हुन्छ भने कुनै वातावरण, परिस्थति, संगत र अरू कुराहरूले उसभित्र ती बानीहरूको बीजारोपण गरिदिन्छन । बानीहरू अनेकौ प्रकारका हुने गर्छन् । कुनैले मान्छेलाई फाइदा गर्छन्, कुनैले हानी पनि गर्छन । यिनीहरूको उपस्थिति यति प्रभावकारी र सशक्त हुन्छ, मान्छेले हानी गर्ने बानीका बारेमा सबै बुझ्दाबुझ्दै पनि तिनलाई हत्पति छोड्न सक्दैन । लतलाई एकछिन छोडेर कुरा गर्ने हो भने पनि मान्छेका असंख्य बानीहरू हुन सक्छन । कति बानीहरू यस्ता हुन्छन्, जसका बारे मान्छे आफै अनविज्ञ हुन्छ । कुनै पनि मान्छेले साधारणतया आफ्ना बानीहरूका बारे केलाएर हेर्ने काम गरेको हुँदैन । माया गर्ने बानी, कुरा काट्ने बानी, काम छल्ने बानी, अरूको खुट्टा तान्ने बानी, सानो कुरामा बढी चिन्तित हुने बानी, रुने बानी, ठग्ने बानी, जानीजानी आफू मूर्ख हुन्जेल भावुक हुने बानी जस्ता असंख्य बानीहरूका बारे कुरा गर्न सकिन्छ, जसको कुनै अन्त्य पनि हुँदैन । 

केही बानीहरू यस्ता हुन्छन्, जसले एउटा ठूलो समुदाय, समाज, सहर वा सिँगै मुलुकलाई सामूहिक रूपमा लैजान पनि सक्छन । वातावरण, परिस्थिति र केही हदसम्म बाध्यताले पनि यस्ता बानी लाग्नमा सघाउ पु¥याइरहेका हुन्छन । एउटा त्यस्तै बानी हो, झूटो बोल्ने । अचेल हामीमा त्यस बानीको विकास भइरहेको छ । बानी नजानी नजानी पनि लाग्न सक्छ भन्ने कुराको यो पनि एउटा गतिलो उदाहरण हो । यो एउटा यस्तो बानी हो, जसले बोल्ने मान्छेलाई क्षणिक फाइदा भए पनि उसका वरपिरकिा थुप्रै अरूलाई सामूहिक र दूरगामी रूपमा असर गररिहेको हुन्छ । झूटो बोल्नेहरूको एउटा दोस्रो वर्ग पनि हुन्छ, उनीहरूले आफूलाई बचाउ गर्ने एउटा कुतर्क पनि हुने गर्छ । उनीहरू साँचो नबोल्नुलाई झूटो बोल्नु भन्दा फरक कुरा हो भन्ने मान्छन् । तर, शब्दलाई मात्र नहेर्ने हो भने यी दुवै कुरामा केही भिन्नता हुँदैन । सानो तहबाट ठूलोसम्म, व्यक्तिगतदेखि राजनीतिक रूपमा हरेक मान्छेहरूमा यो बानी विस्तारै लागिसकेको छ र झन् बलियो हुँदै गइरहेको छ । 

बाटोमा हिँड्दा हरेक दिन हामी केही यस्ता मानिसहरू देख्छौँ, जो खुलेआम एक ठाउँमा रहेर मोबाइल फोनमा आफू अन्तै भएको बताइरहेका हुन्छन । कोहीकोही त आफू कोठाको बेडमा भएर कार्यालयको बैठकमा भएको दाबी गररिहेका भेटिन्छन  । कतिपय मानिसहरू आफूलाई व्यस्त देखाउनका लागि, आफ्नो विशिष्टता प्रमाणित गर्नका लागि पनि यस प्रकारका झूट बोल्छन । पहिले–पहिले भए फोनमा यस्ता किसिमका झूट बोल्न पाइन्नथ्यो । अचेल प्रविधिले बनाइदिएको सजिलोका कारण यस्ता झूटहरू आँखा नझिम्क्याइकनै बोल्न सकिन्छ । कसैको फोन आयो, कुरा गर्न मन लागेन भने नउठाएर फोनै आएको छैन भनिदिनचाहिं दूरसञ्चारको ‘स्तरीय’ सेवाले सजिलो बनाएको छ ।

नेता र राजनीतिक पार्टीहरू यो बानीका सबैभन्दा प्रखर खेलाडीहरू हुन् । उनीहरूचाहिं निकै नै ठूला महत्त्वपूर्ण र संवेदनशील कुराहरूमा पनि आरामसँग झूटो बोल्न सक्षम हुन्छन् । पछिल्ला केही समयमा हाम्रो देशमा भएका कुराहरूलाई नियालेर हेर्ने हो भने यसलाई पुष्टि गर्ने मनग्य उदाहरणहरू फेला पर्छन । उनीहरूले गरेका वाचाहरू एकातिर राखेर तीमध्ये कति पूरा भए कति भएनन् भनेर लेखाजोखा गर्ने हो भने सायद ऐनामा अनुहार हेर्न सक्दैनन् उनीहरूले । कहिले यति बुँदे र उति बुँदे सहमति भन्ने नाममा उनीहरू एकापसमा खुलेआम झूटो बोलिरहेका हुन्छन । अनि, कसले झूटो बोलेको भन्ने दोषारोपण र आरोप÷प्रत्यारोप गर्नमा उनीहरू व्यस्त भइरहेका देखिन्छन । माथिबाट सुरु भएको यो झूटो बोल्ने बानी तलसम्म पनि आइपुगेको छ । झूटो बोल्नाका क्षणिक फाइदा हुन्छन् तर त्यसलाई कायम राख्नका लागि यति धेरै कसरत र अरू झूटो कुराहरू गर्नुपर्छ, त्यसका सामु साँचो कुरा बोल्नु निकै सजिलो हुने गर्छ । तर, यति थाहा हुँदाहुँदै पनि हामी अनावश्यक ठाउँहरूमा पनि किन झूटो बोल्छौँ ? के हामीमा यो बानीले नजानिँदो रूपमा जरो गाडी नै सकेको हो त ? त्यसैले हामीले एकपटक फुर्सद लिएर सोच्नुपर्ने बेला हो यो । के हामीमा झूटो बोल्ने बानीले जरा नै गाडी सकेको हो भने ती बानीबाट हामी टाढा रहनुपर्छ, बच्नुपर्छ !