
मंगलवार , श्रावण ६, २०७७
भैरहवा, ४ साउन ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डीमा शनिबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका नेता महेश लोधले भने, ‘म आज नेकपा छोडेर राप्रपामा प्रवेश गरे । उनीजस्तै विभिन्न पार्टी परित्याग गरी १५३ जना राप्रपामा प्रवेश गरेका छन् ।
देश र जनताको हकहितको लागि काम गर्ने पार्टी राप्रपा भएकोले पार्टीमा प्रवेश गरेको सन्तोष मुराउले बताए । भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य ताहिर अलीले भने, अहिले देशभरी नै राप्रपामा प्रवेश गर्नेको लहर नै चलेको छ, विगतमा जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेकोले राप्रपाबाट नै जनताको पक्षमा काम हुन्छ भन्ने बुझेर नै उहाँहरु प्रवेश गरिरहनु भएको छ ।
उनले कतिपय राम्रा कामहरु राप्रपाले सुरु गरेको र त्यसपछि अन्य दलले त्यसलाई सिको गरेको बताए । पार्टीको एजेण्डा राम्रो भएकोले पनि राप्रपातर्फ नागरिकको आकर्षण बढ्दै गएको उनले दावी गरे ।
९० प्रतिशत बढी हिन्दु धर्मावलम्बी भएको देश नेपाललाई हिन्दु राष्ट्र नै कायम गर्नुपर्छ भन्दै नेता अलीले भने, “हिन्दु राष्ट्र भएपछि सबै धर्मको सम्मान हुनुपर्छ भन्ने कुरा पार्टीले उठाउँदै आएको छ, तर बिडम्बना धर्मनिरपेक्ष मुलुक हुँदा पनि इस्लाम धर्मावलम्बीको महान चाडपर्वमा विदा माग्नुपरेको छ, आवाज उठाउनुपरिरहेको छ ।
त्यस्तै राप्रपा नेतृ समेत रहेकी रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले राप्रपाले सबै नागरिकलाई एकताबद्ध बनाउने काम गरेको बताइन् ।
राप्रपा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष सिताराम सिंहले विभिन्न समयमा भएको पार्टी विभाजनले जनता निराश भए पनि अब भने पार्टी एकताबद्ध भएर अगाडी बढ्ने बताए ।
पार्टीका रुपन्देही जिल्ला सदस्य तथा रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विर बहादुर क्षेत्री, जिल्ला सदस्य सब्बिर अली, नाजिर अली, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्री, तोया लम्साल, विद्यार्थी नेता मोबीन आलम, शम्भु यादव लगायतले बोल्दै आगामी दिनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा पुनः उदाउने दावी गरे ।
राप्रपा रोहिणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राममिलन यादवको अध्यक्षता, वडा नम्बर ५ बुथ कमिटी अध्यक्ष अनिल चौधरीको स्वागत तथा युवा नेता रियाज अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच भेलाले कमरे आलमको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष मुराउ, महेश लोध, सुबराज खरबिन्द, सचिवमा सर्फुद्दीन पठान, सचिवमा सिता यादव र सह–सचिवमा रामवचन हरिजन रहेको राप्रपा निकट प्रवासी नेपाली एकता समाज (यूएई)का वरिष्ठ उपाध्यक्ष मनोज जैसवालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij