images

आइतवार, बैशाख १६ गते २०८१

महामारीमा भोकोे पेटको सहारा बन्यो रोटरी सेन्ट्रल लुम्बिनी

महामारीमा भोकोे पेटको सहारा बन्यो रोटरी सेन्ट्रल लुम्बिनी

images
images
images
मंगलवार, आषाढ १ २०७८
मंगलवार, आषाढ १ २०७८
  • महामारीमा भोकोे पेटको सहारा बन्यो रोटरी सेन्ट्रल लुम्बिनी

    भैरहवा, १ असार । 
    दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा वैशाख १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्यो । कोभिड–१९ ले परिस्थिति निकै चुनौतीपूर्ण बनायो । भिडभाड कम गर्न र नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन तत्काल निषेधाज्ञा जारी गर्नुबाहेक स्थानीय प्रशासनसंग अन्य विकल्प थिएन । निषेधाज्ञा जारी भएपछि उद्योग, व्यवसाय, कलकारखाना, शिक्षण संस्था, यातायात लगायतका क्षेत्र प्रभावित भए । यस्तो अवस्था आएपछि विपन्न परिवार त्यसको प्रत्यक्ष मारमा परे । दैनिक ज्यालादारीमा काम गरेर बिहान सांझको छाक टार्ने मजदूर परिवार समस्यामा पर्न थाले । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरुमा बेड र अक्सिजनको अभाव हुन थाल्यो । बिरामी भुंइमा सुतेर उपचार गराउन बाध्य भए । उत्पादन क्षमता भन्दा बढी अक्सिजनको माग भएपछि अक्सिजनकै अभावमा बिरामीले ज्यान गुमाउनुपर्यो । अवस्था नियन्त्रणमा आउन नसकेपछि क्रमश ः प्रशासनले निषेधाज्ञाको अवधि लम्ब्याउँदै गयो । रोगले भन्दा भोकको चिन्ता भनेझै विपन्न परिवारलाई उनीहरुको बालबालिकालाई बिहान सांझ के खुवाउने भन्ने चिन्ता थपिदै गयो ।

    images

    निषेधाज्ञा सुरु भएको केही दिनपछि युवा व्यवसायीको धर्मवीर शर्माको मोबाइलमा फोन आयो, ‘धर्मवारज्यू म अहिले बेरोजगार भएकोले मेरा छोराछोरीलाई ब्रेड खुलाइरहेको छ, लौ न ब्रेड मात्र खुलाएर मनले मानेन, केही उपाय खोज्नुपर्यो, बालबच्चा जन्माएर उनीहरुलाई खाना खुवाउन नसक्ने कस्तो अभिभावक भनेर मलाई दुःख लागेको छ,’ भन्ने कुरा गरियो । यो कुरा सुनेपछि उनी एकाएक भावुक भए । यस्तो सुनेपछि उनको आँखामा आंशु आयो । उनले यो कुुरा सुनेर आफैलाई सम्हाल्न सकेनन् । तत्काल फोन आएको घरमा खाद्यान्न सामग्री लिएर उक्त घरमा पुगे । त्यसपश्चात शर्माले सामाजिक संजाल फेसबुकमा स्टाटस् लेखे, ‘लकडाउन अवधिमा सिद्धार्थनगर नगरपालिकाभित्र कसैलाई छाक टार्न ग्राहो भए मलाई सम्पर्क गर्नुहोस्, अन्यथा नलिउ । सहयोग माग्नेको नाम लिने छैन् ।’

    उनले उक्त स्टाटस् लेखेपछि खाद्यान्न आवश्यक पर्ने विपन्न परिवारको फोन आउन थाल्यो र उनले केही दिन ती परिवारकै घर पुगेर खाद्यान्न सामग्री उपलब्ध गराए । वैशाख २४ गतेदेखि २६ गतेसम्म उनले २६ घरपरिवारलाई राहत बांडे । शर्माले एक्लै अगाडी बढेर खाद्यान्न वितरण गरेको खबर उनी आबद्ध संस्था रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सदस्यहरुबीच पुग्यो । क्लबको भर्चुअल बैठकमा राहत वितरण कार्य एजेण्डा नै बन्यो । क्लबका सदस्यहरुले समस्यामा परेका विपन्न परिवारलाई एक्लै खाद्यान्न बाँड्ने भन्दा पनि क्लबमार्फत संस्थागत रुपमा वितरण गर्दा धेरै नागरिक लाभान्वित हुने निष्कर्षमा क्लब परिवार पुग्यो । अनि त्यसपछि नयाँ अवधारणा आयो ‘फूड बैंक’ । गत वर्षको महामारीमा पनि कतिपय स्थानमा फूड बैंक सञ्चालन भएका थिए । तर फूड बैंक सञ्चालन गर्दा आलोचना भयो भन्ने गुनासाहरु आए । त्यसैले क्लबले नयाँ तरिकाले यो कार्यक्रम सञ्चालन गर्यो । क्लबले कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारी र कार्यसमिति सदस्य धर्मवीर शर्मालाई जिम्मेवारी दिइ आवश्यक परेका परिवारलाई घरदैलोमै पुगेर राहत वितरण कार्य सुरु गर्यो । 

    क्लबका वर्ष २०२०/२१ का अध्यक्ष हिरा बहादुर शाहले प्रतिपरिवारलाई १५ दिने पुग्ने १० लाख बराबरको ६३२ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको बताए । उनले शरहमा रोगले भन्दा भोकले समस्या आउने देखेपछि क्लबले ‘फूड बैंक’ मार्फत राहत वितरण गरेको बताए । उनले सिद्धार्थनगर नगरपालिकासहित सियारी, मायादेवी, ओमसतिया र रोहिणी गाउँपालिकामा राहत वितरण गरिएको जानकारी दिए । क्लब परिवारले क्षमताले भ्याएसम्म निरन्तर घरदैलौमा निःशुल्क खाद्यान्न तथा मास्क वितरण अभियान सञ्चालन गरेको बताए । निषेधाज्ञाका कारण भोकमरीको समस्या नआओस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

    ‘दोस्रो लहरका कोरोना महामारी सुरु भएपछि अस्पतालमा बेडको अभाव भयो, सरकार त्यसैको व्यवस्थापनमा लाग्यो, अर्कोतर्फ रोग भन्दा भोकले मर्ने पनि डर भयो, त्यसैले फूड बैंकको अवधारणा ल्याएर राहत बाँड्यौं, ’ शाहले भने । फूड बैंक अभियानले स्थानीय सरकारलाई ठूलो सहयोग पुगेको उनको दावी छ । ‘क्लबको अभियानमा स्थानीय प्रशासनबाट अपेक्षित सहयोग हुन सकेन, हामीसंग पास थिएन, प्रशासनले रोक्नु स्वभाविक हो, तर मानवता हिसाबले सहयोग गर्नुपर्ने हो, गाडी लिएर हामी घुम्न निस्किएका थिएनौं, कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्य हाम्रो थियो, ’शाहले भने ।

    घरघरमा राहत पुर्याउने कार्यमा लागेको धर्मवीर शर्माले भने, ‘रोटरी क्लबले सेवा गर्न सिकायो, भाडा तिर्न नसकेपछि घरधनीले निकाल्छु भनेपछि राती ११ बजे फोन आएको थियो, तत्काल भाडा बसेको व्यक्तिलाई ३ हजार रुपैयाँ दियौं, ’उनले भने । राहत वितरण गर्न जाँदा कुनैकुनै स्थानमा प्रहरीबाट कहाँ हिंडेको भन्दै रोक्ने काम भएको उनले बताए । राहत पुर्याउन हतार भएको बेला रोके पनि रोकेकै स्थानमा बोलाएर विपन्न परिवारलाई राहत वितरण गरिसकेपछि खुशीको अनुभुति भएको उनको भनाइ छ ।

    क्लबका संस्थापक अध्यक्ष तथा ‘फूड बैंक’ कार्यक्रम संयोजक विमल सेञ्चुरीले फूड बैंकलाई देश मात्र नभइ विदेशबाट स्वतस्र्फूत रुपमा नगद तथा खाद्यान्न सामग्री सहयोग प्राप्त भएको बताए । उनले यो सहयोगले क्लब परिवारलाई कार्यक्रम अगाडी बढाउन थप प्रेरणा प्रदान भएको बताए । अहिले निषेधाज्ञा खुकुलो भएकोले केही समय यो अभियान रोकिए पनि अत्यावश्यक परिवारलाई समस्या भएको अवस्थामा भने राहत वितरण गर्न सकिने बताए ।

    क्लबका पूर्व अध्यक्ष कृष्ण पाण्डेले कार्यक्रम अगाडी बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । क्लबका सचिव प्रियाबन्धु न्यौपानेको अनुसार क्लबमा हाल ८० जना सदस्य आबद्ध छन् । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले अत्यन्तै राम्रो काम गरेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी बताउँछन् ।‘ स्थानीय सरकारले गर्नुपर्ने काम क्लबले गरेको छ, ’ठकुरीले भने ।

    वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबई रहेकी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ निवासी रोजिना अधिकारी पनि क्लबले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताउँछिन् । ‘म दुबईमा भए पनि नेपाल र नेपालीको चिन्ता छ, निषेज्ञाधामा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले घरदैलोमै पुगेर विपन्न परिवारलाई राहत वितरण गरिरहेको थाहा पाएपछि केही भए पनि अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रु. १० हजार प्रदान गरे, ’अधिकारीले भनिन् । यस्ता संघ–संस्थाहरुलाई सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij