images

शुक्रवार, चैत्र १६ गते २०८०

सुधार हुँदै बाल मन्दिर विद्यालय

सुधार हुँदै बाल मन्दिर विद्यालय

images
images
images
आइतवार, आषाढ २० २०७८
आइतवार, आषाढ २० २०७८
  • सुधार हुँदै  बाल मन्दिर  विद्यालय

    भैरहवा, २० असार ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयको पुरानो भवनमा वर्षात्को समयमा छत चुहेर बालबालिका पढ्ने कोठामा पानी आउँथ्यो । जस्ताको छाना चुहिएको कारण आकाशे पानी कक्षाकोठामै पुग्दा बालबालिकाहरुको ध्यान पढाइमा भन्दा अन्यत्र मोडिन्थ्यो । २०२६ साल यता भवनको मर्मतसम्भार हुन सकेको थिएन् । छत केही भत्किएको र जस्ताको छाना चुहिने भएको कारणले गर्दा बालबालिकाको पठनपाठनमा समस्या सिर्जना भइरह्यो । यसले विद्यालयको प्रशासनिक काममा पनि समस्या भयो । विद्यालय भवनको अवस्थाबारे बारम्बार अभिभावक र स्थानीयको गुनासो पनि आइरहन्थ्यो । तर अहिले भने विद्यालयको अवस्था क्रमशः सुधार हुँदै गएको छ ।

    नयाँ व्यवस्थापन समिति आएपछि विद्यालयको अवस्थामा क्रमशः सुधार हुँदै गएको छ । २०७८ जेठ २३ गतेदेखि विद्यालयमा मर्मतसम्भारको कार्य भइरहेको छ । मर्मतसम्भार अन्तर्गत पुरानो जीर्ण अवस्थामा रहेको कर्कटपातालाई हटाएर नयाँ एचएस पान राखिएको छ । त्यस्तै भवनमा जीर्ण अवस्थामा रहेको पुरानो प्लाई फालेर नयाँ जिप्सन राखिएको छ । त्यसै गरी विद्यालय भवनमा वायरिङ, नयाँ मिटरबक्स जडान, सरसफाई र रंगरोगनको काम भइरहेको श्री बाल मन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले बताए ।

    लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालयको १० लाख र विद्यालयको १० प्रतिशत लगानी सहभागितामा मर्मतसम्भारको कार्य भइरहेको भण्डारीले बताए । नेपाल बाल संगठन मातहत सञ्चालित यो विद्यालयमा शैक्षिक गुणस्तर सुधार, घरदैलो भर्ना अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए । साजन भण्डारीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति आइसकेपछि अहिले भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । नेपाल बाल संगठनका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले भने, ‘विद्यालयको मुहार फेर्ने गरी अगाडी बढेका छौं ।’

    विद्यालय सुधार हुँदै जाने क्रम भए पनि अझै पनि यहाँ केही समस्या भने रहेका छन् । विद्यालयकी प्रधानाध्यापक धन थापाका अनुसार विद्यालयमा बालमैत्री शौचालयको र स्वच्छ खानेपानीको अभाव (हैण्डपम्पबाट पानी पिउनुपर्ने बाध्यता), बालविकास र कक्षा १ का लागि छुट्टै कक्षाकोठा नहुँदा बालबालिकालाई हलमा पढाउनुपर्ने बाध्यता, प्रविधिको प्रयोग गरी बालबालिकाहरुलाई पठनपाठनको व्यवस्था गरी (आइसीटी) कक्षा सञ्चालन हुन नसक्नु र वर्षाको बेला विद्यालय परिसरमा पानी जम्नु प्रमुख समस्या हुन् ।

    नेपाल सरकारद्वारा उपलब्ध गराइएको पाठ्यपुस्तक, छात्रवृत्ति, शैक्षिक सामग्री र खाजा विद्यार्थीरुलाई प्रदान गरिएको प्रधानाध्यापक थापाले जानकारी दिइन् । ‘विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्न सक्यौं भने विद्यार्थीहरुलाई आकर्षित गर्न सकिन्छ, ’उनले भनिन् । विद्यालय व्यवस्थापन समितिले नयाँ नेतृत्व पाएसंगै भवन मर्मतसम्भारको कार्य हुनु राम्रो कुरा भएको थापाले बताइन् । ‘छत चुहिन्थ्यो, अहिले यो समस्याको समाधान हुँदैछ, यो खुशीको कुरा हो, ’उनले भनिन् ।

    नेपाल बाल संगठन रुपन्देहीका कार्यसमिति सदस्य तथा भवन निर्माण समितिका संयोजक शेषकान्त भण्डारी विद्यालयको भवन मर्मतसम्भार भइरहेको र यसको थप कार्यको लागि सहयोग गर्न सरोकारवाला तथा सामाजिक संघ–संस्थालाई आग्रह गर्छन् । उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधारको लागि प्रदेश सरकारले सहयोग गरेको छ, अब यसै गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र व्यवस्थित शौचालय र स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्छ ।’ दोस्रो कोरोना लहरको संक्रमण अघि विद्यालय सञ्चालन भएको बेला बाल मन्दिर आधारभुत विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत रहेका थिए ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij