
सोमवार , आषाढ २१, २०७८
भैरहवा, २१ असार ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गरेको छ । २०६८ साल भदौमा १५ शैयाबाट स्वीकृति लिई सेवा शुभारम्भ गरेको अस्पताल ५० शैयामा स्तरवृद्धि हुँदै मायादेवी–८, रुपन्देहीस्थित आफ्नै भवनमा सेवा सञ्चालन गरेको हो । १० वर्षसम्मको निरन्तर प्रयास, सहयोग र सहकार्य अस्पताल यहाँसम्म आइपुगेको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । नयाँ भवनमा पूर्ण रुपले सेवा सञ्चालन गर्ने इच्छा हुँदाहुँदै कोभिड–१९ को महामारीका कारण हाल अत्यावश्यकसहितका केही विशिष्ट सेवाहरु मात्र सञ्चालनमा रहेको र अन्य सेवाहरु पनि छिट्टै सञ्चालन गरिने पौडेलले जानकारी दिए ।
आफ्ना सेवाबारे जानकारी गराउन अस्पतालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक पौडेलले भने, ‘अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि काठमाडौंका ख्याती प्राप्त ग्राण्डी तथा मेडिसिटी अस्पतालमा लामो अनुभव भएका चिकित्सकहरुको टोलीद्वारा सेवा प्रदान गरेका छौं । ’रोग पहिचान तथा उपकरणका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधितथा उपकरण (६४ स्लाइस्को सिटी स्क्यान, मोडुलर ओटी, आइसीयूका लागि भेन्टिलेटर), प्रयोगशालामा प्रयोग हुने अटोमेटिक एनेलाइजरहरुको समेत व्यवस्था गरिएको उनको भनाइ थियो ।
त्यस्तै अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड शल्यक्रिया (अपरेशन) सेवा, दुरबीनबाट गरिने पत्थरी लगायत सम्पूर्ण अपरेशन, डाइलाइसिस, आइसीयू, एनसीयू, छालासम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपणसम्बन्धि सेवा समेत प्रदान गरिएको उनले बताए । बिरामीको सेवाका लागि र्याम तथा लिफ्ट तथा डिलक्स तथा नर्मल क्याबिनको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नजिकै रहेको लुम्बिनी र सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अतिथिहरुको लागि छुट्टै अन्तर्राष्ट्रिय युनिट बनाइएको पौडेलले बताए । पौडेलका अनुसार उक्त युनिटमा सुविधासम्पन्न ३ वटा बेड र भर्ना भइ बस्नका लागि दुईवटा स्वीट क्याबिन रहेको छ ।
भवनमा ६ वटा फ्लोर र अण्डरग्राउण्ड पार्किङको समेत रहेको अस्पतालले जनाएको छ । ५५ हजार स्क्वायर फिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भवन बनेकाले भुकम्प आएको अवस्थामा पनि सजिलै अपरेशन लगायतका सम्पूर्ण सेवाहरु बिना अवरोध सञ्चालन गर्न सकिने अस्पतालको भनाइ छ ।
भारतीय सीमा नजिक रहेकोले महाराजगंज तथा नेपालको गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लाहरुलाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।
काठमाण्डौंमा कार्यरत विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष डा. सुवोध कुमार पाण्डेले बताए । उनले सकेसम्म अस्पतालबाट बिरामीलाई रिफर गर्न नपर्ने अवस्थाको सिर्जना हुने बताए । गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल लागिपरेको उनको भनाइ छ । अस्पतालमा डा. जावेद खान, डा. सन्दिप कुमार, डा. चन्द्रमोहन शाह लगायतका विशेषहरुबाट स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए । बिरामीलाई प्रदान गरिने सेवासुविधामा कुनै कमी नराख्न अस्पताल लागिपरेको उनले बताए ।
अस्पतालका निर्देशक डा. अमित चतुर्वेदीले अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । अस्पतालमा हाल १२५ जना जनशक्ति कार्यरत रहेको उनले बताए । दैनिक ८०/९० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले अस्पतालले थप सेवाहरु बढाउँदै जाने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij