images

सोमवार, बैशाख १७ गते २०८१

स्थानीय सरकारमा मेरो अनुभव

स्थानीय सरकारमा मेरो अनुभव

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • स्थानीय सरकारमा मेरो अनुभव

    गलाभरी फूलमाला, निधारैभरी अबीर, शरीरै ढाकिने गरी अबीरै अबीर । प्यारा वडावासी आमाबुवा, दिदीबहिनी, दाजुभाई र आफन्तजनको खुशी नै खुशीले ज्यानैभरी लट्पटिएको । आफूले रुचाएको जनप्रतिनिधि पाएकोमा खुशीयालीले भैरहवा नमूना उच्च मा.वि.को प्रवेशद्वार भरिभराउ भएको थियो । सबै उपस्थितिहरुको हातमा खादा, फूलका माला, पुष्पगुच्छा र अविरले सुसज्जित भिडले आफ्ना प्रतिनिधिलाई सिंगार्दै गरेको, एक–अर्कामा खुशीयाली साट्दै गरेको, मतदाता र जनप्रतिनिधिबीचको सम्बन्ध गासेको त्यो मालालाई गलाभरी सजाएको र विजय उत्सव मनाएको दिन २०७४ असार २३ गते । त्यो दिन चार वसन्त बितिसक्दा पनि आजैझै लाग्छ, जुन दिन निकै सम्झिरहेको छु । स्मरण गरिरहेको छु । 

    images

    वि.सं. २०५४ सालमा आफ्ना प्रतिनिधि छान्न पाएदेखि दुई दशकसम्म आफ्नो प्रतिनिधि छान्न वञ्चित मतदाताहरु आफ्नो जनप्रतिनिधि पाउँदा निकै हर्षित थिए  । झनै जनताले रुचाएको आफनो संविधान आफैले बनाएको नेपालको संविधान २०७२, राज्य पुर्नसंरचना, राज्य व्यवस्थाको नयाँ संरचनासहितको संघीय लोकतान्त्रिक गणतान्त्रामक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको महान आकांक्षा पूरा गर्ने महान लक्ष्यको तर्जुमा गर्न पाउँदा हर्षविभोर हुने नै भए । राज्यको तीन तहको सरकार अन्तर्गत संघीय, प्रदेश र स्थानीय सरकार स्थापना भएको बखत स्थानीय सरकारको नगर सभासद भएर जनताको सेवा गर्न पहिलो अवसर एवं सौभाग्य प्राप्त हुँदा म जति खुशी पक्कै पनि अरु कोही भएका छैनन् होला जस्तो लाग्छ । नयाँ संरचनासहितको राज्य व्यवस्थामा खुशीका साथ जनताको सेवामा समर्पित हुन पाउनु चानचुने अवसर हुँदै होइन । यस्तो अवसर, मौका अब कुनै पनि जनप्रतिनिधिले कहिल्यै प्राप्त गर्न सक्दैनन् किन कि हामी नै पहिलो स्थानीय सरकारको पहिलो जनप्रतिनिधि भएका छौ । यस्तो सुवर्ण अवसरलाई कसरी प्रयोग गर्न सकिरहेका छौं ? जनचाहना अनुरुप के कति कार्य गर्न सकियो ? भौतिक पूर्वाधार एवं सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक जस्ता जनपक्षीय कार्य के कस्तो गर्न सकियो ? जनताबाट निर्वाचित भएपछिको चार वसन्तका मेरो भोगाइलाई केही अद्यावधिक गर्न झिनो प्रयास गरेको छु । जनताको प्रतिनिधि (जनप्रतिनिधि) जनताको नजिकको सरकार स्थानीय सरकार अर्थात् जनतासंग प्रत्यक्ष सहकार्य गर्ने समिपको सरकार भएकोले जनताहरुले आफ्ना हरेक सुख दुःखमा खोज्नु स्वभाविक हो ।

    जनताका हरेक सुख दुःखमा साथ दिने भएकोले नै नगरको प्रमुखलाई नगर पिता पनि भन्ने गरिन्छ । नयाँ संविधानअन्तर्गत स्थानीय संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार वडा सदस्यको काम, कर्तव्य र अधिकारभित्र वडा अध्यक्षले निर्देशन गरेको काम गर्ने, हरेक आर्थिक वर्षमा नगर सभामा सहभागि भएर नीति तथा कार्यक्रम, बजेट र विधेयकहरु पास गर्ने भनिएको छ । सोही व्यवस्थालाई अनुसरण गरेर नगरको प्रथम नगरसभामा मैले नगरको वृह्त्तर विकासको लागि नगरको हरेक क्षेत्रको तथ्यांक संकलन हुनुपर्ने, वडा सदस्यहरु पनि जनप्रतिनिधि भएकोले उनीहरुलाई पनि क्रियाशिल गराउन नगर सभाबाटै अधिकार प्रत्यायोजन गराउनुपर्ने जनताका जायज मागहरु सम्बोधन हुनुपर्ने जस्ता तमाम विषयको उठान गरे तर सम्बोधन हुन सकेन । नगरप्रमुखको तलब = शून्य, उपप्रमुखको = शून्य र वडा अध्यक्षको = शून्य लेख्दा समेत वडा सदस्यको = शुन्य भनेर उल्लेख गर्न समेत उल्लेख गर्न सकेन । यस्तो व्यवहारले स्पष्ट के हुन्छ भने सदस्यलाई कुनै भूमिका दिन हुँदैन भन्ने नै हो भन्दा अतियुक्त होला ।                                   

    नेपालको संविधानले व्यवस्था गरे बमोजिम नगरपालिकामा न्यायिक समितिको गठनसंगै स्थानीय सरकारको न्यायपालिकामा पनि सदस्यको रुपमा मनोनित भएर काम गर्न अवसर प्राप्त भयो । हरेक नगरसभामा नगर सभासदहरुले एउटै पार्टीको दुवै सदस्य भएकोमा विमति जनाए तापनि न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर स्थानीय सरकार सञ्चालन २०७४ ऐनले प्रदान गरेको ४७ (१) र ४७ (२) का मुद्दाका पक्ष र विपक्षलाई जीत हुने गरी मेलमिलाप गराउने र ऐन कानून बमोजिम इजालसले फैसला गर्ने गर्नाले सबै जनता न्यायको पहुँचमा पुगेको अनुभूति भएको छ । न्यायलयमा बसेर न्यायको क्षेत्रमा राम्रै काम भएको मान्न सकिन्छ । कानून विषयमा शैक्षिक योग्यता हासिल नगरे पनि समग्र नियम कानूनको विद्यार्थी हुनु जरुरी रहेछ भन्ने लागेको छ ।                                               

    सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ८, जहाँबाट म वडाको सदस्य भए अर्थात त्यहाँका जनताको जनप्रतिनिधि भए । वडाको क्षेत्रफल र जनसंख्याको हिसाबले पनि अरु वडा भन्दा ठूलो र धेरै छ । राजस्व पनि अन्य वडाबाट भन्दा धेरै संकलन हुन्छ र मानव बस्ती पनि दिनप्रतिदिन वृद्धि भएकोले स्वभाविकले वडाको बजेट धेरै हुनुपर्ने मेरो माग हो । मेरो माग वैज्ञानिक छ भन्ने मेरो ठम्याई रहदै आएको छ  । नगरपालिकाको कार्यपालिकामा भए गरेका निर्णयहरु वडा सदस्यहरुलाई वडाको वैठकमा जानकारी गराउनु प्रत्येक वडाअध्यक्षको दायित्व हो तर त्यसो खासै भइरहेको छैन । नगरपालिकाले गर्ने नगरस्तरीय विकास निर्माणका कार्य होस् वा नगरपालिकाले आयोजना गरिने अन्य कार्यक्रम होस् खासै वडा र नगरपालिका कार्यालयबीच खासै समन्वय नहुने यदी भइहाले पनि वडाअध्यक्षले वडा सदस्यहरुसंग समन्वय नगर्ने प्रवृत्तिको विकास भएको पाइयो । यसो हुँदा जनता एवं सेवाग्राहीले सेवा प्राप्त गर्नु त के कुरा अन्य सूचनाहरुबाट समेत वञ्चित हुन पुग्ने स्थितिको सिर्जना हुँदो रहेछ  । यस्तो परिस्थितिमा वडा अध्यक्षले अह्राउनुहुन्छ र गरौला, अध्यक्षले निर्देशन दिनुहोला र गरौंला भनेर बस्नु भन्दा आफ्नो सदस्यको भूमिका आफै खोज्दै हिड्नु बान्छनीय नै होला भनेर आफै जनताहरु माझ पुगिरहेको तस्विर समाजिक संजालमा समाचार बन्दा कसैलाई पाच्य पनि नहुँदो रहेछ ।

    जनताले विकास भनेको नै भौतिक पूर्वाधारलाई मान्दछन् । आर्थिक, सामाजिक, शैक्षिक, कृषि र स्वास्थ्य क्षेत्रको विकासमा मौनझै देखिदा रहेछन् । मौनताको बीचमा रहेछ । चार बसन्तको लामो यात्रामा लगातार दुई वर्षसम्म कोरोना महामारीको चपेटामा फस्यौं । कोरोनाको पहिलो लहरको कहरमा सन्त्रासै सन्त्रास छायो । कोरोना महामारीको विषम परिस्थितिमा नगरपालिकाले पहिलो पटक राहात सामाग्री वितरण गर्नको निम्ति हरेक वडामा अतिविपन्न परिवारको विवरण संकलन वडा सदस्यलाई भन्यो । त्यस्तो जोखिम अवस्थामा पनि वडा सदस्यहरुले घर घर गएर तथ्यांककारलेझैं तथ्यांक लिने कार्य सफलताका साथ सम्पन्न गरेर आफुूरुलाई अब्बल दर्जामा उभ्याए तर यसको कुनै मूल्यांकन भएन । यी यस्ता सारा कार्यको उच्च मूल्यांकन एक दिन जनताले गर्ने नै छन् ।                         

    आज जनताबाट चुनिएर प्रमाणपत्र लिएको दिन चार वर्ष पुगेको थाहै भएन । जनतासंगको सामीप्यताले समय वितेको थाहै नहुँदो रहेछ । अब एक वर्ष कार्यअवधि सिंगै छ । यो सिंगो वर्षलाई अहिलेसम्म कमाएको अनुभवलाई प्रयोग गर्दै जाने प्रतिबद्धता जाहेर गर्दछु । जनताले लगाई दिनुभएको माला चुडेर खै कहाँ गइसक्यो, मैले जतन गरेर राख्न सकिन् । पुष्प गुच्छाहरु ओइलिएर गए पनि त्यो स्नेहले अबिरै अबिरले पोतिएको कपडा र खादा जतनले दराजमा राखेको छु । मलाई लगाइदिनु भएको माला चुडिएर जहाँ गए पनि म र यहाँहरुबीचको सम्बन्ध कहिल्यै नचुडिने गरी बलियो बनाइराख्नेछु । फूल ओइलिएर सुगन्ध हराए पनि सुमधुर सुगन्ध छर्न प्रयत्न गर्नेछु ।
    (लेखक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य हुन् ।)

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij