२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपाले तीन जना सदस्यलाई निष्काशन गरेको पत्र प्रदेशसभामा दर्ता 

बिहिवार , श्रावण १४, २०७८

बुटवल, १४ साउन ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले लुम्बिनी प्रदेशसभामा रहेका आफ्ना तीन जना सदस्यलाई निष्काशन गरेको पत्र प्रदेशसभामा दर्ता गरेको छ । जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै तीन जना प्रदेशसभा सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको हो । 

जसपा प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले हस्ताक्षर गरको पत्रमा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निश्कासन गरेको जानकारी गराइएको छ ।
जसपाले निष्काशन गरेकोे पत्रसंगै गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरुलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलाई उपलब्ध गराएको जनाएको छ । 

जसपाको महन्थ ठाकुर पक्षमा रहेका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले सरकारबाटै राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिवद्धता जनाएका कारण उनलाई कारवाही गरिएको छैन । पाण्डेय, यादव र पाण्डे हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका छन् । लुम्बिनीका विपक्षी दलहरुले पोखरेल सरकार अल्पमतमा रहेको भन्दै तत्काल राजीनामा दिन या विश्वासको मत लिन चुनौती दिइरहेका छन् ।