
सोमवार , श्रावण १८, २०७८
बुटवल, १८ साउन। बिगत केहि दिनदेखि हराईरहेकी भनिएकी लुम्बिनी प्रदेश सांसद बिमलाकुमारी खत्री (वली) एकाएक प्रकट भएकी छन्। सत्तारुढ नेकपा बिभाजनपछि माओबादी केन्द्रमा छु भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएकी सांसद बिमला वली हाल नेकपा एमालेमा छु भन्दै मुख्यमन्त्री निवासबाट बिज्ञप्ती निकालेर पुनः सार्वजनिक भएकी हुन्।
केहिदिनदेखि नेकपा माओवादी केन्द्रसँग सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आफु् सुर्य चिन्ह लिएर चुनाव लडेको र एमालेमा नै रहेको भन्दै पुनः खुलेकी छिन् । श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा परि निधन भएपछि उपचुनावमा नेकपाबाट सुर्य चुनाव लडेकी वली यसअघि आफुले पार्टी बिभाजनपछि माओवादी केन्द्र रोजेको भन्दै आएकी थिइन्।
लुम्बिनी प्रदेशमा सत्ताको लागि पक्ष र बिपक्षबिच चरम रस्साकस्सी चलिरहेको बेला माओबादीमा छु भन्दै हिडेकी सांसद बिमला वली केहीदिन हराएर एमालेमा खुल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनी केहिदिनदेखि सम्पर्कविहीन भएको र नेपालगन्जमा उपचार गराईरहेको चर्चा चलेको थियो । तर सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफु एमाले संसदीय दलमा रहेको बताएपछि लुम्बिनी प्रदेशको राजनैतिक सरगर्मी बढेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij