भैरहवा। निर्माण सम्पन्न भएको ५ महिनामै सडक भत्किए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। निर्माण सम्पन्न भएर आयोजनालाई हस्तान्त्रण हुन नपाउदै सडक भत्किएपछि बिभिन्न सञ्चार माध्ययममा आएको समाचारका आधारमा आयोगले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन थालेको हो। अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली खटाएर छानविन शुरु गरेको छ।
भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकका लागि स्तरीय सडक पुर्वाधारको अबधारण अन्तरगत सरकारले भैरहवा देखि लुम्बिनी हुदै तौलिहवा सम्मको सडक स्तरोन्नती गरेको हो।
बिश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने सडक भैरहवा देखि लुम्बिनी सम्म ४ लेन र लुम्बिनी देखि तौलिहवासम्म २ लेनको बनाउन सरकारले ठेक्का आब्हान गरेको थियो।
यस अघि भैरहवा देखि लुम्बिनी सम्मको सडक दुई लेनको थियो भने लुम्बिनी देखि तौलिहवा सम्मको सडक सिङगल लेनको थियो। पछि त्यस सडकको स्तरोन्नती गर्दै भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो। एशियाली विकास बैंकको सहयोगमा उक्त सडक भैरहवा देखि तौलिहवा सम्म ४१ किलोमिटर छ।
४१ किलोमिटर सडकमा दर्जनौ ठाँउमा खाल्डा खुल्डी परेका छन्। कतिपय स्थानमा त एकतर्फको सडम पुरै दबेको छ। निर्माण सकिएको ५ महिनामै सडक भत्कीएपछि अख्तियारको टोलीले सडकका बिभिन्न स्थानबाट नमुना संकलन गरेको छ। अख्तियारले सडकको गुणस्तर मापनका लागि नमुना संकलन गरिएको जनाएको छ। नमूना संकलनमा खटिएका इन्जिनियर सुदीप आचार्यले सडकका बिभिन्न ठाउँबाट नमूना लिएर गुणस्तर जाँच गरिने बताए। ‘सडकको गुणस्तरबारे बिभिन्न संचारमाध्यमबाट समाचार आएपछि अख्तियारले छानविन सुरु भएको हो’, उनले भने, ‘गुणस्तर जाँचका लागि सडकको ३०÷४० ठाउँबाट नमूना लिन्छौं।’
अख्तियारले निर्माण कम्पनी, आयोजना कार्यालय, परामर्शदातालाई समेत स्थलगतरुपमै सँगै लिएर नमूना लिइरहेको छ। ४१ किलोमिटर रहेको यो सडक भारतीय निर्माण कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले स्तरोन्नतीको जिम्मेवारी पाएको थियो। कम्पिनीले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गरेको सडक ५ महिना नपुग्दै भत्कीन लागेको हो।
वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हँुदै कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले निकै महत्वुपर्ण सडक हो। साघुरो र धुलाम्मे सडकका कारण बिदेशी पर्यटकमाझ नराम्रो सन्देश गएपछि सरकारले सडक स्तरोन्नती गरेको हो। तर स्तारोन्नती गरेको ५ महिनामै सडक भत्किन थालेपछि पर्यटक तथा भैरहवा लुम्बिनी आवात जावत गर्ने नागरिकले सास्ती भोग्नु परेको छ।
गावर कन्सट्रक्सनले २०२० जनवरी १२ सम्म निर्माण सम्पन्न गर्ने गरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य सुरु गरेको थियो। जुलाई १४ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेर काम शुरु गरेको भएपनि तोकिएको समय भन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको थियो। तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ।
सुरुवातमा १ अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मुल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ। ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ।