
मंगलवार , भाद्र १, २०७८
भैरहवा, १ भदौ ।
जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेको छ । पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र तोक्न माग गरेको हो । मंगलबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावलीमा दर्ता गरी परिचयपत्र वितरण कार्य यथाशिघ्र सुरु गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बोधार्थ पठाइएको ज्ञापनपत्रमा नामावली संकलन कार्यमा जिल्ला प्रशासनबाट आवश्यक शान्ति सुरक्षा उपलब्ध गराइदिन समेत जनमत पार्टीको माग छ ।
‘कोही नछुटोस्, कहीं नछुटोस् भन्ने अभिप्रायले जनताले स्वतन्त्र र निष्पक्ष रुपमा मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सकियोस् भन्ने हाम्रो मनसाय रहेको छ, ’ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीबाट यसबारे सकारात्मक प्रतिक्रिया आएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । ‘जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनमत पार्टीले उठाएको माग समेटिएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउनुभएको छ, कतिपय युवाहरु विदेशबाट फर्केको अवस्थामा मतदाता परिचयपत्रबाट वञ्चित भएकाले उहाँहरुलाई नामावलीमा समावेश गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्छ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij