
आइतवार , आश्विन ३, २०७८
भैरहवा, ३ असोज ।
संविधान संशोधन गर्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा आइतबार भैरहवामा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ गतेलाई विरोध दिवसको रुपमा मनाइँदै प्रदर्शन गरिएको लोसपा रुपन्देहीका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले बताए । उनले मधेशी, मुस्लिम, आदिवासी जनजाति, महिला, थारु लगायत उत्पीडित समुदायको अधिकार संविधान संशोधनमार्फत सुनिश्चित गर्नुपर्ने बताए । ‘देशमा धेरै संविधान बने, तर त्यसले जनताको हकअधिकार सुनिश्चित गर्न सकेन, अपुरो संविधानले पूर्णता नपाएसम्म विरोध दिवस मनाइन्छ, ’नेता गुप्ताले भने ।
वर्तमान सरकारले दुई महिना बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेकोले सरकार जनताप्रति उत्तरदायी नभएको स्पष्ट हुने उनले बताए ।
प्रदर्शन पश्चात आयोजित कोणसभामा बोल्दै लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव, रुपन्देही जिल्ला अध्यक्ष राजेश रंजन वर्मा (अजय वर्मा), पार्टीका नेता तथा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनिया लगायतले बोल्दै संविधानले समेटन नसकेका उत्पीडित समुदायका अधिकारलाई संविधान संशोधनमार्फत समेट्नुपर्ने बताए ।
भैरहवास्थित गल्लामण्डीबाट सुरु भएको विरोध प्रदर्शन मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको लोसपा रुपन्देहीका युवा नेता मोहम्मद इस्लामले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij