२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मोतिपुर जग्गा अतिक्रमणप्रति एमालेको आपत्ति

आइतवार , आश्विन १७, २०७८

बुटवल, १७ असोज ।
बुटवलको मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर लगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा वर्तमान सत्ता गठबन्धनको आडमा अतिक्रमण भइरहेको भन्दै यसलाई रोक्न र अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन माग गरिएको छ ।

‘नेपालको संविधानको धारा ४० (५) ले ग्यारेण्टी गरेको भूमि तथा आवासको अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकारले गरेको षडयन्त्रप्रति एमाले गम्भिर आपत्ति व्यक्त गर्दछ’–विज्ञप्तीमा भनिएको छ । पुर्ववर्ती नेकपा एमालेको सरकारले भूमि ब्यवस्था ऐन, कानुन बमोजिम गठन गरेको आयोगलाई एमालेसंग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहिन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भिर घात भएको ठहर गर्दै विज्ञप्तीमा भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न ध्यानाकर्षण गराइएको छ ।