
बिहिवार , आश्विन २१, २०७८
भैरहवा, २१ असोज ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफै समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठान्ने कांग्रेस माओवादीका लागि महाभूल हुने बताए ।
राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको पुष्टि हुँदै गएको बताए । ‘हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउन सकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ, मधेशमा विकास निर्माणका धेरै कार्यहरु भएका छन्, ’उनले भने । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि विभिन्न कार्यक्रम ल्याएको उनले दावी गरे ।
एमाले नेतृत्वको सरकारले सुकुम्बासी, भूमिहिन तथा गरीबका लागि उच्चस्तरीय भूमिसम्बन्धि समस्या समाधान आयोग गठन गरी जग्गा दिन खोजेको उनको भनाइ छ । ‘२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहिनले जग्गा पाउँथे,’ नेता बस्नेतले भने ।
रुपन्देहीको विकासका निम्ति विष्णु पौडेलले सशक्त रुपमा नेतृत्व गर्नुभएको उनले दावी गरे । लुम्बिनी क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिबाट खासै विकासका काम हुन नसकेको उनले बताए । लुम्बिनीबाट निर्वाचित सांसद भन्दा लुम्बिनीको विकासका लागि धेरै काम खिमलाल भट्टराईले गर्नुभएको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गरे । नेता बस्नेतले मन्त्री छनौटको विषयलाई लिएर कांग्रेस र माओवादी भित्र झगडा सुरु भइसकेको बताए । उनले माधव कुमार नेपालको अवस्था चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तो हालत भएको बताए । उनले उपेन्द्र यादवले सरकारमा जान महन्थ ठाकुर जस्ता त्यागी नेताको अपमान गरेको आरोप लगाए ।
वर्तमान शेर बहादुर नेतृत्वको सरकार पाँच दलीय नभई ६ दलीय गठबन्धनको सरकार भएको उनले दावी गरे । उनले गठबन्धन सरकारमा पाँच दलबाहेक प्रधानन्यायाधिशको नेतृत्वमाअर्को दल रहेको बताए । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको छुट्टाछुट्टै कर्तव्य र अधिकार भए पनि संविधान र लोकतन्त्रलाई चुनौती दिने गरी न्यायालयले मन्त्रीपरिषद्मा भाग खोज्ने, पदवी दिलाउन भूमिका खेल्ने जस्ता कार्यमा लागेको आरोप लगाए ।
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विभिन्न विकासका काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij