
शुक्रवार , आश्विन २२, २०७८
भैरहवा, २२ असोज ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले पार्टीबाट अलग भएर गएकाहरुले अलग हुनुको कारण पुष्टि गर्न नसकेको बताएका छन् । व्यक्तिगत स्वार्थका आधारमा पार्टीलाई कमजोर बनाउन माधव नेपालले खेलेको भूमिकाकै कारण केही व्यक्तिहरु फरक दल बनाएर बाहिरिए पनि त्यसले एमालेलाई कुनै प्रभाव नपरेको उनले दावी गरे ।
एमालेलाई कमजोर बनाउछु भन्नेहरु आफै परास्त भएर गएको वताउदै विश्वकर्माले भने, ‘नेपाली राजनीतिको केन्द्रविन्दु भनेकै एमाले हो । मजबुत र शक्तिशाली एमाले कहिल्यै कमजोर बन्दैन ।’ नेपालको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व प्रदान गर्ने शक्ति एमाले भएकाले अलग भएर गएकाहरु एक दिन एमालेमै फर्कने बताउँदै उनले एमाले अबका दिनमा थप सुदृढ हुँदै गएको ठोकुवा गरे ।
भर्खरै सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशनले एमालेलाई उर्जा मिलेको उल्लेख गर्दै विश्वकर्माले भने, ‘एमाले आगामी दिनमा एकताबद्ध र शसक्त रुपमा अघि बढछ । एमाले तिलोत्तमा–९, शाखा कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विश्वकर्माले केही व्यक्तिहरु पार्टीबाट बाहिरिए पनि विभिन्न रुपमा त्यसको शोध भर्ना भएको बताए ।
शाखा कमिटीका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षता, कृष्ण पोख्रेलको सञ्चालन र रुपा न्यौपानेको स्वागतमा भएको भएको भेलामा पार्टीका लुम्बिनी प्रदेश कमिटीका सदस्य कविराम अर्याल, जिल्ला सचिव तथा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरदेवी चौधरी, पार्टी जिल्ला सचिवालय सदस्य एवं तिलोत्तमा नगरपालिका प्रमुख प्रमुख बासुदेव घिमिरे लगायतले बोलेका थिए । भेलाबाट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ लगायतको वडास्तरीय संगठन गठन गरिने शाखा कमिटी अध्यक्ष हरि प्रसाद पाण्डेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij